ओलीलाई योगेश भट्टराईको जवाफ: ‘लोभपाप’ छैन, एमाले फुट्ने छैन तर पुनर्गठन हुनेछ
ओलीले भनेका थिए: विष्णु पौडेल ‘पापी’, शंकर पोखरेल ‘लोभी’
काठमाडौं : नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन हुनेमा ढुक्क रहन आग्रह गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले नै एमाले फुट्न सक्ने अभिव्यक्ति दिइरहेको बेला उपमहासचिव भट्टराईले सोमबार बिहान सामाजिक सञ्जालमार्फत पार्टी नफुटीकन पुनर्गठन हुने दाबी गरेका हुन्।
भट्टराईले सामाजिक सञ्जालमा छोटो छोक प्रस्तुत गर्दै एमाले पुनर्गठन भइ छाड्ने बताएका हुन्। ‘ढुक्क रहनुहोस्, लोभ छैन, पाप छैन। पुनर्गठन हुनेछ। फुट्ने छैन। टुट्ने छैन। सबै मिल्ने छन्। थप एकताबद्ध हुनेछन्। सबैको सम्मान हुनेछ। मति सुध्रने छ। गति बढ्ने छ,’ उनले लेखेका छन्।
एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ओलीले पार्टीका दोस्रो र तेस्रो वरीयताका नेताहरूमाथि अराजनीतिक र असहिष्णु टिप्पणी गरेका छन् ।
चुनावी समीक्षा र पुनर्गठन कार्यदलको बागमती प्रदेश भेलामा बहुसङ्ख्यक नेताहरूले आफ्नो बिदाइको माग गरेलगत्तै आक्रोशित बनेका ओलीले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलमाथि असहिष्णु टिप्पणी गरेका हुन्।
कार्यदलको बैठक सकिएलगत्तै आफूलाई भेट्न भक्तपुरको गुन्डुस्थित निवास पुगेका अगुवा नेता तथा कार्यकर्ताहरूमाझ ओलीले पौडेल र पोखरेलप्रति कडा असन्तुष्टि जनाए। भेटमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार ओलीले दुई शीर्ष नेतामध्ये उपाध्यक्ष पौडेललाई ‘पापी’ र महासचिव पोखरेललाई ‘लोभी’ को संज्ञा दिँदै ‘लोभीपापी’ हरूले पुनर्गठनका नाममा पार्टी नै फुटाउन खोजेको गम्भीर आरोप लगाएका छन्।
'अहिले एमालेमाथि चारैतिरबाट हमला भइरहेका बेला पुनर्गठनका नाममा पार्टीलाई फुटाउन खोजिँदैछ, तपाईंहरू सचेत रहनुस्,' ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, 'अहिले कोही लोभी, कोही पापी भएर निस्किए। त्यसैले अहिलेलाई म केही भन्दिनँ, रामराम मात्रै भन्न सक्छु तर काँधै त थाप्न सक्दिनँ।' ओलीले विष्णु र शंकरको लामो आलोचना गरेका थिए । ‘शंकर लोभी हुन्, विष्णु पापी हुन्,’ ओलीले भनेका थिए, ‘यिनीहरूले पार्टीमा संकट ल्याउन खोज्दैछन् ।’
शनिबार काठमाडौँको जडीबुटीमा आयोजित बागमती प्रदेशको सुझाव सङ्कलन बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूले ओलीको बिदाइ र नेतृत्व पुनर्गठनको पक्षमा दह्रो मत राखेका थिए।
.gif)

.png)

