करिडोर विस्तार विवादमा सांसद पाण्डेको स्पष्टोक्ति: नेपाली सेनासँग पूर्ण समन्वयमै भएको हो काम

‘करिडोर विस्तारमा केही मिनेट मात्र समन्वय ढिलो भएको थियो’


२०८३ श्रावण १९ मंगलबार १७:३४ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले गोकर्णस्थित बागमती करिडोर विस्तारको काम नेपाली सेनासँग पूर्ण समन्वय र सहकार्यमै सम्पन्न गरिएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यस विषयलाई लिएर विभिन्न टिकाटिप्पणी र भ्रमपूर्ण सूचना फैलिन थालेपछि उनले मंगलबार विज्ञप्ति जारी गर्दै वास्तविकता सार्वजनिक गरेका हुन्।

पाण्डेले सडक विस्तारका क्रममा प्रारम्भिक चरणमा नेपाली सेनाको सम्बन्धित टुकुडीसम्म आवश्यक जानकारी पुग्न केही मिनेट ढिलाइ भएका कारण सामान्य असहज अवस्था सिर्जना भएको स्वीकार गरेका छन्। तर त्यसलगत्तै नेपाली सेनाका प्रमुख सेनानीसँग प्रत्यक्ष समन्वय र छलफल गरी सेनाकै पूर्ण सहयोगमा सडक विस्तारको काम निर्विघ्न रूपमा सम्पन्न गरिएको उनले बताएका छन्।

‘उक्त कार्य सम्पन्न गर्ने क्रममा सम्बन्धित नेपाली सेनाको टुकुडीलाई आवश्यक जानकारी पुग्न केही मिनेट ढिलाइ भएको कारण प्रारम्भिक रूपमा केही असहज अवस्था सिर्जना भएको थियो,’ विज्ञप्तिमा भनिएको छ। ‘तर त्यसपश्चात् नेपाली सेनाका प्रमुख सेनानीज्यूसँग आपसी समन्वय र छलफल सम्पन्न भई नेपाली सेनाकै पूर्ण सहयोग र सहकार्यमा उक्त सडक विस्तारको कार्य सफलतापूर्वक सम्पन्न गरिएको जानकारी गराइन्छ।’

उनका अनुसार उक्त कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरूको रोहवरमा सम्पन्न भएको हो। सम्बन्धित सरकारी निकायबीच आवश्यक समन्वय गरेर नै सडक विस्तारको काम अघि बढाइएको उनले उल्लेख गरेका छन्।

यसै विषयमा मंगलबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पाण्डेले प्रारम्भिक चरणमा सेनाका एक अधिकृतलाई समयमा जानकारी नपुग्दा केही समय समन्वयमा कमी देखिएको बताए। तर त्यसलाई तत्काल समाधान गर्दै नेपाली सेनासँग सहकार्य गरेर नै करिडोर विस्तारको काम सम्पन्न गरिएको उनले दोहोर्‍याए।

उनले यो सडक स्थानीयवासीको लामो समयदेखिको मागका आधारमा खोलिएको पनि बताएका छन्। निर्वाचन अभियानका क्रममा स्थानीय नागरिकले सहज आवागमनका लागि बाटो खोल्न आग्रह गरेपछि अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण तथा नेपाल ट्रस्टसँग आवश्यक समन्वय गरी सडक विस्तार गरिएको उनको भनाइ छ।

सांसद पाण्डेले सडक विस्तारका क्रममा त्यहाँ नेपाली सेनाको टुकुडी रहेको जानकारी पाएपछि सम्बन्धित निकायमार्फत तत्काल समन्वय गर्न अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्षलाई जिम्मेवारी दिइएको बताएका छन्। त्यसक्रममा केही मिनेट समन्वय हुन ढिलाइ भएको अवस्थाको भिडियो मात्र सार्वजनिक भएकाले त्यसले वास्तविक घटनालाई नसमेटेको उनको दाबी छ।

उनले सार्वजनिक भएका भिडियोका आधारमा नेपाली सेना र अन्य सरकारी निकायबीच विवाद भएको निष्कर्ष निकाल्नु गलत हुने उल्लेख गरेका छन्। वास्तविकतामा भने सबै पक्षबीच समझदारी र सहकार्य कायम रहेकै अवस्थामा सडक विस्तारको काम सम्पन्न भएको उनको भनाइ छ।

सामाजिक सञ्जालमा फैलाइएका भ्रमपूर्ण सूचना र अपुष्ट दाबीप्रति ध्यानाकर्षण गराउँदै पाण्डेले सत्यतथ्य नबुझी कुनै पनि संस्था वा निकायबीच अनावश्यक विवाद सिर्जना गर्ने गतिविधि नगर्न सबैलाई आग्रह गरेका छन्।

‘वास्तविकता नबुझी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने, संस्थाहरूबीच अनावश्यक विवाद सिर्जना गर्ने वा तथ्यभन्दा फरक निष्कर्ष प्रस्तुत गर्ने कार्यबाट सबैमा संयमता अपनाइदिन हार्दिक अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७