रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु
काठमाडौँ : रौतहट जिल्लाको गौर नगरपालिका–६ सनगढा गाउँमा दुई समुदायबीच भएको विवाद उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा जारी सूचनाअनुसार शनिबार दिउँसो १ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्म कर्फ्यु कायम रहनेछ । मस्जिदमा प्रार्थना भइरहेका बेला बाजा बजाइएको विषयलाई लिएर विवाद सुरु भएको बताइएको छ।
शुक्रबार बिहानदेखि नै गौर क्षेत्र तनावग्रस्त बनेको र अवस्था असामान्य बन्दै गएपछि कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा कर्फ्यु लागू गरिएको छ।
स्थिति नियन्त्रणका लागि प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको जनाएको छ। गौरका वडा नम्बर ४, ५ र ६ मा झडप भएको जानकारी दिइएको छ।
कर्फ्यु अवधिभर घरबाहिर निस्कन, भेला–जुलुस गर्न, सभा–प्रदर्शन गर्न तथा आवतजावत गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
झडपका क्रममा केही सवारीसाधनमा आगजनी, घरमा तोडफोड तथा केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ। अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना परिचालन गरिएको छ।
.gif)

.png)

