अशोक दर्जीले दिए प्रहरीमा उजुरी
कुटपिटको भिडियो सार्वजनिक भएपछि अशोक दर्जी पुगे प्रहरीकहाँ
झापा : गायक तथा कलाकार अशोक दर्जीले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले भिडियो बनाएर सामाजिक सञ्जालमा ‘भाइरल’ बनाइएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनी, झापामा औपचारिक उजुरी दर्ता गराएका छन्। आफूलाई योजनाबद्ध रूपमा फसाइएको र चरित्रहत्या गर्ने उद्देश्यले भिडिओ सार्वजनिक गरिएको भन्दै उनले संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको माग गरेका छन्।
घटनाबारे खुलेको विवरण अनुसार, उनी करिब एक महिनाअघि बिर्तामोडस्थित मावली घर गएका बेला महानन्द चोक नजिक साथीहरूसँग खाजा खाइरहेका थिए। सोही क्रममा ‘अङ्कित’ नामका साथीले ‘काजी दाइ’ सँग एक हजार रुपैयाँ लिएर भित्री गल्लीमा गएको अशोकले निवेदनमा उल्लेख गरेका छन्।
घटनाको एक सातापछि देवीबस्ती गेट नजिक स्कुटीमा पेट्रोल हालिरहेको अवस्थामा अङ्कित, शशांक प्रधान र ‘गुन्द्रुक’ भनिने व्यक्तिले आफूलाई घेरेर हजार रुपैयाँ चोरेको झूटा आरोप लगाएर कुटपिट गरेको र जबरजस्ती भिडिओ खिचेको उनको भनाइ छ।
पटक-पटक भिडिओ हटाउन आग्रह गर्दा उल्टै धम्की दिँदै सामाजिक सञ्जालमा फैलाएर आफ्नो भविष्य तथा सामाजिक प्रतिष्ठामाथि खेलबाड गरिएको अशोकले गुनासो गरेका छन्। यसरी भिडिओ सार्वजनिक भएपछि उनका शुभचिन्तकहरू चिन्तित बनेका छन् भने सानै उमेरमा चर्चामा आएका कलाकारलाई दुर्व्यवहार गरिएको भन्दै न्यायको माग भइरहेको छ।
सानो उमेरमै असाधारण स्वरका कारण भाइरल बनेका अशोक दर्जीलाई ख्यातिप्राप्त संगीतकार टंक बुढाथोकीले विशेष रूपमा संरक्षण गर्दै आएका छन्। टंककै संगीत निर्देशनमा अशोकले गाएको ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ गीत अत्यधिक लोकप्रिय बनेको थियो। यस घटना,बारे उजुरी प्राप्त भएपछि झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले आवश्यक छानबिन सुरु भइसकेको जानकारी दिएकी छन्।
.gif)

.png)

