१० दिनको म्याद मागिए पनि १ दिनमै बेदिका केसी हाजिर जमानीमा रिहा

आज सरकारी वकिल कार्यालयमा उपस्थित हुनुपर्ने


२०८३ श्रावण ८ शुक्रबार ११:२५ बजे

काठमाडौं : सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको तथा लाञ्छना लगाएको आरोपमा पक्राउ परेकी बेदिका केसी हाजिर जमानीमा रिहा भएकी छन्। उनी बिहीबार राति नै रिहा भएकी हुन्।

साइबर ब्यूरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीका अनुसार केसीलाई शुक्रबार बिहान १० बजे जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीमा उपस्थित हुने सर्तमा हाजिर जमानीमा छाडिएको हो। सरकारी वकिलको कार्यालयको सहमतिमा उनलाई रिहा गरिएको उनले जानकारी दिए।

पुराण वाचिका राधिका दासीको जाहेरीका आधारमा केसीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको थियो। अनुसन्धानका लागि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयसँग १० दिनको म्याद मागेको भए पनि एक दिनको मात्र म्याद स्वीकृत भएको थियो।

स्रोतका अनुसार जाहेरवाला राधिका दासीले बेदिकालाई थुनामा नराखी सहमतिमार्फत विषय टुंग्याउने इच्छा व्यक्त गरेकी थिइन्। तर, मुद्दा फौजदारी प्रकृतिको भएकाले जाहेरी दर्ता भइसकेपछि कानुनी रूपमा मिलापत्र गर्ने व्यवस्था नभएको प्रहरी पक्षले जनाएको थियो।

त्यसपछि उक्त विषय सरकारी वकिलको कार्यालयमा पुगेको र सोही आधारमा लामो म्याद नदिई एक दिनको मात्र म्याद थप गरिएको स्रोतले जनाएको छ। त्यसपछि बिहीबार राति नै केसीलाई हाजिर जमानीमा रिहा गर्दै शुक्रबार कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको हो।

यद्यपि, हाजिर जमानीमा रिहा भए पनि उनीविरुद्धको कानुनी प्रक्रिया भने जारी रहनेछ। अनुसन्धानको क्रममा प्रहरी वा सरकारी वकिलको कार्यालयले बोलाएको समयमा उपस्थित हुनुपर्नेछ। तोकिएको समयमा उपस्थित नभए पुनः पक्राउ गर्न सकिने कानुनी व्यवस्था रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७