न्याय माग्न पुगेका बिनु र निहारिकाविरुद्ध उल्टै मुद्दा


२०८३ श्रावण ८ शुक्रबार १४:१९ बजे

काठमाडौं :  बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि न्यायको माग गर्दै प्रदर्शन गर्न पुगेका बिनु यादव र निहारिका राजपुतविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ। दुवै जनालाई बिहीबार बालुवाटार क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।

उनका अनुसार निषेधित क्षेत्रमा प्रदर्शन गर्नुका साथै हुलहुज्जत गरेकाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको हो। बिहीबार नै उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएपछि हाल दुवैलाई प्रहरी वृत्त मालिगाउँमा राखिएको प्रहरीले जनाएको छ।

बिनु यादव यसअघि एक सातादेखि सिंहदरबारमा धर्ना बस्दै आएकी थिइन्। आफ्ना मागहरूको सुनुवाइ नभएको भन्दै उनी बिहीबार बालुवाटार पुगेकी थिइन्। उनले आफ्नो बलात्कार मुद्दाको अनुसन्धानमा प्रहरीले शंकास्पद भूमिका खेलेको आरोप लगाउँदै संलग्नमाथि कारबाहीको माग गर्दै आएकी छन्। साथै, सोही विषयमा गृहमन्त्रीसँग भेटेर आफ्नो धारणा राख्न चाहेको बताएकी थिइन्।

यस्तै, निहारिका राजपुतले पनि आफूमाथि भएको हिंसाबारे गृहमन्त्रीलाई प्रत्यक्ष जानकारी गराउन चाहेको बताउँदै आएकी थिइन्। यसअघि सिंहदरबारको मुख्य गेटमा पुग्दा बिनु र निहारिकालाई प्रहरीले बल प्रयोग गरी हटाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। प्रहरीले भने निषेधित क्षेत्रमा प्रवेश गरी प्रदर्शन गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिनुपरेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७