सुनसरीमा झडप : एक जनाको मृत्यु, १६ जना घाइते
विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ। घटनामा ८ जना प्रदर्शनकारी र ८ जना प्रहरी घाइते भएका छन्।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार प्रहरीको गोली लागेर देवानगञ्ज–३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै राति सप्तकोशी नदीतर्फ जाने तयारी भइरहेको थियो। सो क्रममा अर्को समूहले रातिको समयमा अत्यधिक होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद चर्किएको थियो।
विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार र हवाई फायर गरेको थियो। त्यसबाट पनि अवस्था नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको जनाएको छ।
घटनामा घाइते भएका ८ प्रदर्शनकारीमध्ये अधिकांशलाई गोली लागेको छ। उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
कोशी अस्पतालमा उपचाररत घाइतेहरूमा २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादव रहेका छन्। त्यस्तै, विराट नर्सिङ होममा २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको उपचार भइरहेको प्रहरीले जनाएको छ।
झडपमा प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। निरीक्षक राईको टाउकोमा चोट लागेको छ। घाइते हुने अन्य सुरक्षाकर्मीमा प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी जवान रामबहादुर राई, विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव रहेका छन्।
प्रहरीका अनुसार झडपका क्रममा कप्तानगञ्ज बजारका घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनीसमेत भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
.gif)

.png)

