कप्तानगञ्जमा कर्फ्यु उल्लंघन भएपछि सेना सडकमा
कर्फ्युका बाबजुद स्थानीयको प्रदर्शन
विराटनगर : स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन र तोडफोड हुन थालेपछि सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरिएको छ। प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि स्थिति नियन्त्रणमा लिन हतियारसहित सेनाको टोली खटिएको हो।
सेनाको टोली पुगेसँगै कप्तानगञ्जको अवस्था हाल नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ। सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार अहिले स्थिति सामान्य बनाउने प्रयास जारी छ।
कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच झडप भएको थियो। उक्त झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज-३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर ९ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
यस झडपका क्रममा सर्वसाधारण र सुरक्षाकर्मीसहित कुल २२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। गोली चलेर युवकको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयहरूले विरोध प्रदर्शन थालेका थिए। स्थिति थप तनावपूर्ण बन्ने भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो।
तर, निषेधाज्ञालाई बेवास्ता गर्दै सोमबार बिहानैदेखि विभिन्न स्थानमा कर्फ्यु उल्लंघन गरी प्रदर्शनहरू भइरहेका छन्। प्रदर्शनकारीले तोडफोड र आगजनीका गतिविधि गर्न थालेपछि सुरक्षा व्यवस्था कडा पार्दै सेना परिचालन गरिएको हो।
.gif)

.png)

