नाबालिगको डिम्ब कारोबारमा ‘डा. नूतन शर्मा पनि’


२०८३ श्रावण ८ शुक्रबार ११:४३ बजे

काठमाडौं :  १६ वर्षीया किशोरीको डिम्ब (अण्डाणु) अवैध रूपमा संकलन तथा कारोबार गरिएको आरोपमा भइरहेको अनुसन्धानको दायरामा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा आइभिएफ (टेस्ट–ट्युब बेबी) विशेषज्ञ डा. नूतन शर्मा पनि परेकी छन्।

प्रहरी स्रोतका अनुसार हाल बीएन्डबी अस्पतालमा कार्यरत डा. शर्माको भूमिकामाथि अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानबाट बिचौलिया राधिका गौतमले डा. शर्माकै सिफारिसमा नाबालिग किशोरीलाई बीएन्डबी अस्पतालस्थित आइभिएफ सेन्टरमा पुर्‍याएको खुलेको प्रहरीको दाबी छ।

त्यहाँ किशोरीलाई डिम्ब उत्पादन बढाउन हर्मोनको इन्जेक्सन लगाएर सात दिनपछि पुनः आउन भनिएको थियो। तर, घर फर्किएपछि उनको स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको प्रहरी अनुसन्धानमा उल्लेख छ।

स्वास्थ्य अवस्था बिग्रिएपछि किशोरी केही घण्टा ढिलो गरी पुनः आइभिएफ सेन्टर पुगेकी थिइन्। तर, ढिलो आएको भन्दै चिकित्सकले उनलाई हप्काएर फर्काइदिएको आरोप लागेको छ।

स्वास्थ्य झन् बिग्रिएपछि परिवारले सोधपुछ गर्दा मात्रै किशोरीले आफूलाई डिम्ब दानका लागि आइभिएफ सेन्टरमा लगिएको घटना अभिभावकलाई सुनाएकी थिइन्। त्यसपछि परिवारले प्रहरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान अघि बढाइएको हो।

यसअघि लिंग पहिचान गरी गर्भपतन गराएको अभियोगमा नेपाल मेडिकल काउन्सिलले उनको चिकित्सकीय इजाजतपत्र (लाइसेन्स) तीन महिनाका लागि निलम्बन गरेको थियो। काउन्सिलको उक्त निर्णयविरुद्ध उनले उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन्। तर, अदालतले काउन्सिलको निर्णय कार्यान्वयन रोक्ने अन्तरिम आदेश भने जारी गरेको थिएन।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७