पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर

बाग्मती म्युनिसिपल पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार


२०८३ श्रावण ७ बिहीबार १७:३७ बजे
शैलेन्द्रप्रसाद साह

काठमाडौं :  सर्लाहीस्थित बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मुद्दा दायर गरिएकामध्ये मधेश प्रदेश सरकारको तत्कालीन अर्थसचिव गजेन्द्रकुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेश सरकारका उपसचिव उद्धवराज न्यौपाने तथा निर्माण कम्पनी बिकोई धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेल रहेका छन्।

अख्तियारका अनुसार बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणका क्रममा अनियमितता गरी राज्यलाई ३९ करोड ३९ लाख रुपैयाँ बराबरको हानिनोक्सानी पुर्‍याइएको निष्कर्षसहित मुद्दा दायर गरिएको हो। यद्यपि, प्रत्येक प्रतिवादीविरुद्ध उनीहरूको संलग्नताअनुसार फरक–फरक बिगो र सजायको मागदाबी गरिएको छ।

आयोगले पूर्वअर्थमन्त्री साह र तत्कालीन अर्थसचिव ठाकुरविरुद्ध ३५ करोड रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना र कानुनबमोजिम सजायको माग गरेको छ। त्यस्तै, मेयर भरतकुमार थापा, उपमेयर लीलाकुमारी मोक्तान तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलले ३९ करोड ३९ लाख रुपैयाँ बराबरको हानिनोक्सानी पुर्‍याएको आरोपसहित उनीहरूविरुद्ध सोही बराबरको बिगो र सजाय माग गरिएको छ।

यस्तै, उपसचिव उद्धवराज न्यौपानेविरुद्ध २० करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लगाइएको छ भने निर्माण कम्पनी बिकोई धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेलमाथि पनि ३९ करोड ३९ लाख रुपैयाँ बराबरको हानिनोक्सानी पुर्‍याएको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७