बालेन लक्षित हर्कको कटाक्ष : ५०–५० केजीको ढुंगा बोकाइदिन्छु अनि थाह पाउँछ
देश न उखानले बन्छ, न स्ट्याटसले, पाखुराले बन्छ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति कठोर बनिरहेका छन् ।
आफूलाई चित्त नबुझेको कुरा सामाजिक सञ्जालमा राखिहाल्ने स्वभावका मेयर साम्पाङले बालेन लक्षित कैयौं कटु स्ट्याटस लेखेका छन् ।
जेनजी आन्दोलनपछि देशकै नेतृत्व गर्छु भनेर सक्रिय भएका हर्क बालेन समूहका युवाहरूका कारण प्रधानमन्त्री बन्नबाट बञ्चित भए । त्यसपछि उनले बालेनलाई झन् कटाक्ष गरिरहेका छन् ।
यद्यपी उनले बालेनलाई लक्षित गरेपनि नाम भने उल्लख गर्दैनन् ।
आज (बुधबार) पनि हर्कले उनै बालेनलाई लक्षित गर्दै ‘देश न उखानले बन्छ, न स्ट्याटसले, देश त पाखुराले बन्छ’ भनेका छन् । अझ उनले बढ्ता कुरा गर्नेलाई ढुंगा बोकाइदिने चेतावनी समेत दिएका छन् ।
उनले लेखेका छन्, ‘काठमाडौंको विकास न मेयरहरूले गर्या हो न प्रधानमन्त्रीहरूले ! त्यो त त्यहीँका र देशभरिका जनताको ट्याक्सले गरेको हो । विकासको मोडल हेर्न त हाम्रो श्रमदानमा आउनु पर्छ ! खुट्टा हल्लाएर हिँडेर हुँदैन ! न उखान टुक्काले बन्छ न स्ट्याटसले । देश बन्ने भनेको पाखुराको दमले बन्ने हो श्रमदानले बन्ने हो । बढ्ता कुरा नगर्नु ५०–५० केजीको ढुङ्गा बोकाइदिन्छु अनि थाहा पाउँछ !’