प्रधानमन्त्री कार्कीलाई ‘फ्री तिब्बत’ का नेतृत्वकर्ताहरुको तारन्तारको बधाई

नेपालमा सिक्‍योङ पेन्पा छिरिङ समूहको सक्रियता


२०८२ असोज १ बुधबार १९:०३ बजे

काठमाडौं : सुशीला कार्की अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएपछि ‘फ्री तिब्बत’ अभियानका अगुवाहरु उत्साही देखिएको छ । ‘एक चीन नीति’प्रति नै प्रश्न उठाउने गरी ‘फ्री तिब्बत’ अभियानका मुल नेतृत्वले एकपछि अर्को नेतृत्वहरुले बधाई दिएपछि चर्चाको बिषय भएको छ ।

कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएको भोलिपल्ट २८ भदौमा तिब्बतका निर्वासित धर्मगुरु दलाई लामाले बधाई सन्देश पठाएका थिए ।  निर्वासित तिब्बतीहरूको ‘केन्द्रीय तिब्बती प्रशासन’को आधिकारिक वेबसाइटमा कार्कीलाई शुभकामना दिएको उल्लेख छ । 

शुभकामनामा लामाले भनेका थिए, ‘म सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भाग्नुपरेपछि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकारले र नेपाली जनताले उपलब्ध गराइदिएको सुविधाका लागि निकै आभारी छु । वास्तवमै, तिब्बती समुदाय तुलनात्मक रूपमा सानो भए तापनि, नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिइरहेको विश्वास गर्छु।’

यसपछि ३१ भदौ २०८२ मा केन्द्रीय तिब्बती प्रशासनका प्रमुख सिक्‍योङ पेन्पा छिरिङले नेपालको पहिलो अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिएका थिए ।

सिक्योङले बधाईमा भनेका छन्, ‘तिब्बतभित्र र बाहिर रहेका तिब्बतीहरूका लागि, नेपाल राष्ट्र र नेपाली जनताको लागि यो महत्वपूर्ण मोडमा तपाईंको ऐतिहासिक नियुक्ति पहिलो अन्तरिम प्रधानमन्त्रीका रूपमा हुनु, हाम्रा लागि दुवै खुसीको क्षण र नेपालका सबै जनताका लागि उज्ज्वल भविष्यप्रतिको आशाको विषय बनेको छ।’

सिक्‍योङले नेपालमा रहेका तिब्बती शरणार्थीहरूको अवस्थाबारे पनि चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्,‘म पनि हाम्रो ऐतिहासिक सम्बन्धको महत्त्वलाई पुनः दोहोर्याउन चाहन्छु। तर, जबर्जस्ती चीनको कब्जा र तिब्बतभित्रको अमानवीय दमनका कारण नेपालमा शरण लिन आएका तिब्बतीहरूको अस्तित्वमै चुनौतीपूर्ण परिस्थितिको सामना गर्नु परिरहेको छ भन्ने कुरा पनि जोड दिन चाहन्छु। हाम्रा दीर्घ प्रयासहरू विफल भए पनि, तपाईंको नेतृत्वले हामीलाई नयाँ आशा दिएको छ।’ सिक्‍योङले नेपाली जनताको त्याग, विशेष गरी जेनजी क्रान्तिका दौरान उनीहरूले पुर्‍याएको योगदानको पनि प्रशंसा गरेका छन् ।

पेन्पा छिरिङ

उनले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालमा रहेका तिब्बती शरणार्थीहरूका लागि राहत मिल्ने आशा व्यक्त गरेका छन्। ‘म विश्वस्त छु कि तपाईंको नेतृत्वमा र नयाँ संरचनामा नेपालमा रहेका तिब्बती शरणार्थीहरूलाई केही राहत मिल्नेछ। हामी नेपाली राष्ट्रको विकासमा सकारात्मक रूपमा सहभागी हुने प्रतिबद्धता गर्दछौं, सिक्योङले लेखेका छन्।

शरणार्थीहरूको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकोमा पनि उनले धन्यवाद भनेका छन् । भनेका छन्, ‘१९५९ यता तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनतालाई कृतज्ञता व्यक्त गर्नुभएको छ। म पनि हाम्रो ऐतिहासिक सम्बन्धको महत्त्वलाई पुनः दोहोर्याउन चाहन्छु।’

नेपालमा पेन्पा छिरिङको सक्रियता 
 ७ मंसिर २०७६ नेपाल भ्रमणमा आएका ५३ वर्षिय अमेरिकी नागरिक पेम्पा छिरिङलाई त्रिभुवन विमानस्थलमा अध्यागमन कार्यालयले नियन्त्रणमा लियो । पेम्पा छिरिङ ‘टुरिष्ट भिसा’मा अमेरिकाबाट दिल्ली हुदै काठमाडौं ओर्लिएका थिए । उनलाई नियन्त्रणमा लिनुको कारण थियो, ‘नेपालस्थित चिनियाँ दूतावासको पत्र ।’ 

चीनले स्वतन्त्र तिब्बत अभियानका तिब्बती धर्मगुरु दलाई लामाले बनाएको सरकारको सभामुख पेम्पा छिरिङलाई कालो सूचीमा राखेर नेपाल सरकारलाई नेपाल भ्रमणमा अनुमति नदिन पत्रचार गरेको थियो ।

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध नेपाल सरकारले चीनको आग्रह अनुसार नै पेम्पा छिरिङलाई नेपाल झर्न साथ नियन्त्रणमा लिएर प्रहरीसँग समन्वय थाल्यो । अध्यागमन कार्यालयले उही पेन्पा छिरिङ भएको निचोड सहित उनलाई उही राती नै कतार हुँदै अमेरिका फर्काइदियो ।

यसअघि तिब्बती नेता दलाई लामाका शिक्षामन्त्री नुडुप छिरिङ पनि साता गोप्य रुपमा नेपाल आए । दलाई लामाका मन्त्रीहरुलाई नेपालमा आउन निषेध भए पनि उनी अन्तराष्ट्रिय विमानस्थल नै प्रयोग गरेर नेपाल आएका थिए । तर, अध्यागमनका अधिकारीहरुले मेसो नै पाएनन् । चीनले पछि असन्तुष्टि जनाएपछि मात्र अध्यागमनका अधिकारीहरु सर्तक भए । त्यही सर्तकताको साथ पेम्पा छिरिङलाई नियन्त्रणमा लिइएको थियो ।

पेम्पा छिरिङलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर अमेरिका फिर्ता पठाएको समाचार केही अग्रेजी पत्रिकाहरुले महत्वको साथ प्रकाशन गरे । यो समाचार प्रकाशित भएपछि ‘रियल’ पेम्पा छिरिङ भने अचम्भित भए । भारतको धरमशाला रहेका पेम्पा छिरिङले आफ्ना समूहसँग त्यो बिषयमा चासो राखे । र, उनले नेपाली सञ्चार माध्यमहरुसँग सम्पर्कमा आएर आफू पक्राउ परेको पेन्पा छिरिङ नभईको बताए । उनै चलाख पेन्पा छिरिङको समूहले अहिले नेपालमा सक्रियता बढाएको छ ।

तिब्बती पोष्टका अनुसार अनुसार पेम्पा छिरिङ १९७६ मा साउद इन्डियाको बाईलाकुप्पी भन्ने ठाउँमा जन्मिएका हुन् । उनले चेन्नाईको मद्रास क्रिष्चियनबाट अर्थशास्त्रमा स्नातक गरेका छन् । उनले तिब्बत पार्लीमेन्ट्री रिसर्च सेन्टर, दिल्लीमा निर्देशक पदमा रहेर २००८ देखि २०१० सम्म काम गरेका छन् । उनी २००६ मे ३१ मा तिब्बती धर्मगुरु दलाई लामाले बनाएको सरकारको सभामुख पदमा निर्वाचित भएका थिए ।

को हुन पेन्पा ?

पेम्पा छिरिङ लामो लामो समयदेखि भारतको धरमशालामा कार्यालय राखेर स्वतन्त्र तिब्बत अभियानका गतिबिधिमा सामेल छन् । उनी दलाई लामाको केन्द्रीय तिब्बत प्रशासनको अमेरिका प्रतिनिधि समेत हुन् ।

उनले अमेरिकी नागरिकता र पासवर्ड नलिएको टिबेटसनको दाबी छ । भारतले जारी गरेको ‘ट्राभल डकुमेन्ट’का आधारमा यात्रा गर्छन् । तर, उनी त्यही ‘ट्राभल डकुमेन्ट’का आधारमा यसअघि पटक पटक नेपाल भने आएका छन् । उनले भनेका छन्, ‘म २००७ सालमा एक राजनीतिक विचार गोष्ठीमा विचार राख्न गएको थिएँ ।’

त्यसो त उनी भरतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामाको विश्वासपात्र मध्येका एक हुन् । लामाको अभियानका प्रमुख नेता मानिन्छन् उनी । दलाई लामा भने यतिबेला अमेरिका भ्रमणमा छन् । पछिल्लो समयमा तिब्बती शरणार्थी क्याम्पहरुमा गत महिना गोप्य रुपमा चुनाव सम्पन्न भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७