प्रधानमन्त्रीले प्रदेश खारेज गर्लान् ?

काठमाडौं : नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा घाइते भएर उपचाररत युवाहरूलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
शनिबार सिभिल अस्पताल, वीर अस्पताल र ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूलाई भेटेर प्रधानमन्त्री कार्कीले हौसला र सान्त्वना दिएकी हुन् ।
प्रधानमन्त्री कार्कीेले घाइतेहरूको अवस्थाबारे बुझ्ने क्रममा उनीहरूसँग संवाद पनि गरेकी छन् । उनीहरूले आफ्नो स्वास्थ्यसँगै देशको बारेमा चिन्ता व्यक्त गरेका थिए । तीमध्ये केही घाइतेहरूले प्रदेश खारेज गर्न माग गरेका थिए । साथै केहीले संविधान संशोधन गरेर कार्यकारी प्रधामन्त्रीको व्यवस्था गर्न आग्रह गरेका थिए ।
देशको बारेमा घाइतेहहरुको कुरा ध्यान दिएर सुने पनि प्रधानमन्त्री कार्कीले कुनै जवाफ फर्काइनन् । टाउको मात्र हल्लाइरहिन् । संघियताबारे केही नबोले पनि उनले घाइतेहरूको स्वास्थ्य उपचारमा कुनै कमी हुन नदिने बताउँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेकी थिइन् ।
सबैजसो घाइतेहरूले प्रधानमन्त्री कार्कीलाई बधाइ दिएका छन् । तर प्रधानमन्त्री कार्कीले आफूलाई बधाई नदिन आग्रह गरेकी छन् । प्रधामन्त्री कार्कीले कार्यकाल सफल भएमा मात्र बधाइ दिनुहोला भन्दै तत्काल बधाइ नदिन आग्रह गरिन् ।
‘मलाई अहिले कसैले पनि बधाई नदिनुहोला । मेरो कार्यकाल सफल भयो भने बधाई दिँदा हुन्छ,’ उनले भनिन् ।