सहमति नजुटे संकटकाल

काठमाडौं : नेपाली सेनाले संकटकाल तयारी गरेको छ । राष्ट्रपति र आन्दोलनकारी समूहबीच वार्ता टुंगो नमिलेर नयाँ सरकार गठन हुन नसकेमा संकटकाल लगाउने प्रस्ताव सेनाले प्रस्तुत गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
संकटकाल टार्न छिटोभन्दा छिटो निष्कर्षमा पुग्न राष्ट्रपतिले अधिकतम् प्रयास गरिरहेको शितलनिवासको दाबी छ । राष्ट्रपतिले संविधानको धारा ६१ (४) प्रयोग गरेर सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने, नयाँ मन्त्रिपरिषद्को सिफारिशमा नयाँ निर्वाचनको घोषणा गर्ने प्रस्ताव राष्ट्रपतिको छ ।
जेनजी आन्दोलनले संसद् विघटन हुनैपर्ने र निर्णय प्रक्रियामा जेनजीलाई सहगिता सुनिश्चित गरिनुपर्ने अडान अघि सारेको छ। जेनजीहरूको प्रतिनिधि मञ्च ‘हामी नेपाल’ले भर्खरै सामाजिक सञ्जालमा पोस्ट गरी भनेको छ, ‘हाम्रो अबको प्राथमिक एजेन्डा संसद्को विघटन र निर्णय प्रक्रियामा जेनजीको सहभागिता सुनिश्चित गर्नु हो।’
जेनजीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारेको छ। कार्कीले पनि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संसद् विघटन र आन्दोलनमा भएको दमनको छानबिनलाई मुख्य सर्त बनाएकी छन्।