अर्थमन्त्रीको ३ निर्णयमा देखिएका आशाको किरण
2025-09-15-14-17-09.jpg)
काठमाडौँ : नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेलगत्तै टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका हुन् ।
पदभार ग्रहण गर्दै मन्त्री खनाले भने, ‘ मलाई माननीय नभन्नुहोला… अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’
साथै पदभार सम्हालेका मन्त्री खनालले खर्च कटौती र सादा जीवनशैलीलाई प्राथमिकता दिँदै स्वकीय सचिवालय नराख्ने घोषणा गरेका छन् । उनले आफूलाई सरकारी काम काज सहज र छिटो हुनका लागि केवल एकजना सवारी चालक भए पर्याप्त हुने बताएका छन् । यसबाट सचिवालयको नाममा हुने अनावश्यक खर्च नियन्त्रण हुने मन्त्री खनालको विश्वास छ ।
शपथग्रहण अघिनै मन्त्री खनालले मासिक तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने बताइसकेका छन् । मन्त्री बन्ने पक्का भएलगत्तै उनले आफूले कुनै पनि सेवा सुविधा नलिने बताएका थिए ।
स्रोतका अनुसार अहिलेको परिस्थितीलाई मध्यनजर गर्दै प्रधानमन्त्रीको टिमले उनलाई पिएसओ भने राख्न आग्रह गरेको थियो। तर मन्त्री खनालले त्यो पनि मानेका थिएनन् ।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको आर्थिक सल्लाहकार हुँदा पनि उनले कुनै पनि सुविधा नलिइ काम गरेका थिए। अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने खनाल पूर्वअर्थसचिव हुन्।