जेनजीहरुले जान्नु पर्ने मीनबहादुर गुरुङको आँसुको कथा

आगो झोस्नेहरु अब मीनबहादुरले होइन, प्रहरी वा प्रशासनले पनि होइन आफ्नो सुन्दर भोलीका लागि आफ्नो अमूल्य आजलाई बलिदान गर्न हिडेका ‘जेनजी’हरुले खोजी गर्नुपर्छ । किनभने ‘जेनजी’ को सुन्दर भोलीको सबैभन्दा ठुलो बाधक उनीहरु हुन्


२०८२ भदौ २९ आइतबार ११:५० बजे

२५ फरवरी १९१७, रुसको इतिहासमा जारशाही राजतन्त्रको अन्त्य भएको दिन ।  तत्कालीन जारशाही राजतन्त्र विरुद्ध पुँजीवादीहरूसँग लेनिन र बोल्सेविकहरूले मिलेर गरेको क्रान्तिले निकोलस–द्वितीयलाई सत्ताको घोडाबाट खसाल्यो । जारशाहीको पतनपछि अन्तरिम सरकार बन्यो । एकातिर अन्तरिम सरकार । अर्कातिर क्रान्तिमा संग्लन मजदुर, किसान र निकोलस–द्वितीयका उही सैनिक । दुई शक्ति केन्द्र, द्वैध सत्ता ।

८ अक्टोबर १९१७ मा भ्लादिमिर लेनिनले नेतृत्व गरेको बोल्सेविक पार्टीले सम्पूर्ण सत्ता लियो । तर त्यो ८ महिना रुसी इतिहास असाध्यै पीडादायी र बिर्सनलायक समय बन्यो । मस्को र पेत्रोग्रादमा तान्डव मच्चियो । जेलभित्रबाट अपराधीहरू निस्किए । शहरभरी लूटपाट चल्यो । अगजानी र तोडफोड भयो । दिउँसै सडकमा महिलाहरू बलात्कृत भए । मारिए । पुस्तकालय जले, ऐतिहासिक स्मारक जल्यो । दुर्लभ दस्तावेजहरू खरानी बनाइयो । त्यो बर्बरता रुसी मानसपटल र इतिहासमा गहिरो घाउचोट बनेर बझिल्रह्यो । 

आफ्नै प्रिय साथी लेनिनको चर्को आलोचना गरे । त्यही बेला एकजना साथीलाई पत्र लेखेर उनले भनेका थिए, ‘क्रान्ति त हुने नै भयो तर यो क्रान्तिले हाम्रा पुर्खाले निर्माण गरेका रुसी सांस्कृतिक मूल्यको सर्वनाश गर्ने भयो । चिरहरण गरियो । क्रान्ति भनेको मानिसहरूको मनमा चेतना जगाउने प्रक्रिया हो, तर यहाँ त अराजकता, आगजानी र लुटपाट मात्र फैलिएको छ ।’ 

म्याक्सिम गोर्कीले आफ्नो समाचारपत्र ‘नव जीवन’ मा कठोर आलोचना गरे । किसान र मजदुरको नाममा भएका लुटपाटलाई गोर्कीले सांस्कृतिक पतन र मूल्यहरूको चीरहरण भने । आफ्नै प्रिय साथी लेनिनको चर्को आलोचना गरे । त्यही बेला एकजना साथीलाई पत्र लेखेर उनले भनेका थिए, ‘क्रान्ति त हुने नै भयो तर यो क्रान्तिले हाम्रा पुर्खाले निर्माण गरेका रुसी सांस्कृतिक मूल्यको सर्वनाश गर्ने भयो । चिरहरण गरियो । क्रान्ति भनेको मानिसहरूको मनमा चेतना जगाउने प्रक्रिया हो, तर यहाँ त अराजकता, आगजानी र लुटपाट मात्र फैलिएको छ ।’ 


त्यो मस्को र पेत्रेग्रादको, यो काठमाडौं
म्याक्सिम गोर्कीले उतिबेला देखेको मस्को र पेत्रेग्राद र हामीले हेरेको २४ भदौ २०८२ मा हेरेको काठमाडौं उस्तै लाग्छ । ‘जेन–जी’ पुस्ताका लागि २३ भदौ जारशाही राजतन्त्रका निकोलस–द्वितीयलाई गद्दीबाट झरेको दिन जस्तै लागेको हुनुपर्छ ।

आफ्नै आचारसंहिता, आदर्श र सिमारेखाहरू सहित इतिहासमा नयाँ अध्याय लेख्न सडकमा उत्रिएका थिए, ‘जेन–जी’ पुस्ता । आफ्नो समय, देश र पुस्तालाई शासकहरूले ठगिरहेको देख्दा, अपमानित गरिरहेको सुन्दा हृदयमा सल्किएको विद्रोहको आगो निभाउन सडकमा थिए, ‘जेन–जी’ पुस्ता । बिडम्बना त्यो २३ शानदार विद्रोहलाई २४ गते अरु कसैले ‘हाइज्याक’ गरेर बिद्रुप बनाइदियो । र ‘जेनजी’ पुस्ताले त्यो दिन माइतीघर ओर्लिएपछि सुनाएको आदर्श र आचारसंहिता विपरित लूटपाट, तोडफोड, डकैत, आगजानी गरियो । २४ भदौको बिर्सनलायक त्यो लूटपाट, अगजानी हाम्रो दिल-दिमागमा पनि  गहिरो घाउचोट बनेर बल्झिहनेछ । 

उतिबेला म्याक्सिम गोर्कीले लेखे जस्तै २४ गतेलाई सम्झिएर हामीले अहिले लेख्नु परेको छ, ‘हाम्रा पुर्खाले निर्माण गरेका नेपाली सांस्कृतिक मूल्यको सर्वनाश गर्ने भयो । हाम्रो पूर्खाहरूले बचाएर ल्याएको मूल्यहरूको चिरहरण गरियो ।’ २४ भदौ २०८२ का बिर्सनलायक अनेकन दृश्यहरू छन् । त्यसको बारेमा पालै–पालो लेख्दै जाम्ला । त्यो दिन सबैभन्दा बढी प्रहार गरिएको मध्ये एक हो, भाटभटेनी सुपर मार्केट अर्थात् मीनबहादुर गुरुङ ।

भाटभटेनी सुपर मार्केटले दिएको जानकारी अनुसार भदौ २४ गते, मंगलबार आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटका २८ मध्ये २१ वटा शाखामा क्षति भयो । १२ वटा नष्ट भएको छ भने ९ वटामा तोडफोड र लुटपाट गरिएको छ । नक्साल भाटभटेनी, महाराजगन्ज, बौद्ध, कोटेश्वर, बालुवाटारस्थित वेयर हाउस, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानमा रहेका स्टोरमा लुटपाट र आगजनी गरी पूर्ण नष्ट गरिएको छ । कलंकी, थिमी, बालाजु, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवामा तोडफोड गरेर अधिकांश सामग्री लुटपाट गरिएको छ । बाँकी रहेका सातवटामा टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर, पाटन र नेपालगन्जमा मात्रै सग्लो छ । 

मलाई राम्रोसँग हेक्का छ, मैले यो लेख्दै गर्दा ममाथि एउटा संगीन आरोप लाग्नेछ, ‘यी भाटभटेनीका पेड मान्छे ।’ मैले आफैंलाई आफैंले कहिल्यै झुट बोलेर अपराध गरेको छैन । हो, एक वर्षअघि भेट भएको थियो, मनीबहादुर गुरुङसँग । उतिबेला पनि मीनबहादुर गुरुङ विरुद्ध यसैगरी प्रहार गरिएको थियोे । टेलिभिजनमा, सामाजिक सञ्जालहरूमा मीनबहादुर गुरुङ बर्बरी रोएको देखेको थिएँ । र, त्यो बेला भनिएको थियो, ‘मीनबहादुर तस्कर, अभियुक्त, बिचौलिया ।’ 

उतिबेला उनीमाथि जुन भाष्य बनाइयो, मेरो हृदयले भन्यो, दिमागले भन्यो, ‘यी गुरुङमाथि नियोजित प्रहार भइरहेको छ ।’ र लामो लेखे लेखेँ ‘आफ्नै माटोमा बिराना मीनबहादुर गुरुङहरू ।’ त्यही बेला उनैले बोलाएपछि भेट भयो । पुरै सम्झना छ, ‘नक्साल पुगेर तीन थान बिस्कुट र एक कप कालो चिया खाएर फर्किएँ ।’ सायद त्यही लेख पढेर होला ? केही समाजमा गहिरो प्रभाव भएका भेटाइदिनु भनेर अनुरोध गरेका थिए । तर फोन नउठेपछि त्यो झन्झटतिर दोहोराएर लागिँन । त्यसपछि उनले मलाई खोजेनन्, मैले भेटिनँ । यतिमा ‘पेड’ भनियो भने मलाई त्यो मञ्जुर नै हुनेछ । 

त्यसबीचमा मीनबहादुर गुरुङसँग जोडिएका अनेकन समाचार आइरह्यो । कतै ४१ करोड लगानीमा अस्पताल बनाइदिएको, कतै गरिब विद्यार्थीहरूलाई डाक्टरी पढाइदिने घोषणा गरेको, कतै बाढी पीडित, रोगीहरूलाई सहयोग दिएको । यस्ता धेरै धेरै समाचार । यस्तो लाग्थ्यो, ‘मेरो दाबीहरू गलत भएनन् ।’

मीनबहादुरलाई रुवाएर देश कसरी बन्छ ?
२१ जेठ २०८१ । सादगी नेपाली कांग्रेसका नेता सांसद चन्द्र भण्डारी संसदको रोष्टममा उभिएर भने, ‘भाटभटेनीको एउटा साहु मीनबहादुरलाई हामीले थुन्यौँ, हामीले हप्कायौँ, हामीले दप्कायौँ, अदालतबाट पनि उनले गुहार पाएनन् । उनैले एउटा हस्पिटल बनाउने भन्दा ४१ करोड दिँदै रहेछन् नि त । यहाँ हामीले हार गुहार गर्दा कसैले जलन हस्पिटल बनाइदिन्छ ? बनाइदिन्न नी । यो मुलुकप्रतिको चिन्ता छैन नी । तर हाम्रा व्यापारी र उद्यमीहरू जसले मुलुकको लागि सोच्छन् ।’ हो, चन्द्र भण्डारीले भने जस्तै मीनबहादुर गुरुङको हार गुहारमा कोही पनि हुँदैनन् । तर देशको हरेक संकट, आम मान्छेहरूको हारगुहारमा उनी सधैँ सँगै थिए । छन् । 

हो, चन्द्र भण्डारीले भने जस्तै मीनबहादुर गुरुङको हार गुहारमा कोही पनि हुँदैनन् । तर देशको हरेक संकट, आम मान्छेहरूको हारगुहारमा उनी सधैँ सँगै थिए । छन् । 

भाटभटेनीमा करिब १० हजार नेपाली काम गर्छन् । त्यस बाहेक अन्य क्षेत्रबाट पनि उनले रोजगारीका अवसर उत्तिकै सृजना गरेका छन् । यो बेला सामाजिक सञ्जालमा भाटभटेनी जलिरहेको मुटु चिमोट्ने दृश्यहरू छरपष्ट देखिन्छ । भाटभटेनी लूटपाट गरेका तस्बिरहरू छन् । त्यो भन्दा बेसी भाटभटेनी जलाउन आएका मान्छेहरूलाई कर्मचारीहरूले धर्धरी रोएर नजलाउन गरेको अनुनय विनय विरुद्ध सैतानी ताण्डव मच्चाइरहेको दृश्यहरूले मनै पोल्छ । १२ वटा शाखा नष्ट र ९ वटामा तोडफोड अनि लूटपाट मच्चाएपछि मीनबहादुरले भनेका छन्, ‘भाटभटेनी जल्दा छाती चिराचिरा भएको छ, तर मसँग रुने छुट छैन, हजारौंको सपना ब्यूँताउनुछ ।’ 

खरानीमा उभिएर पनि मीनबहादुरले मनोबल अझ बलियो बनेर उठ्ने उद्घोष गरेका छन् । भनेका छन्, ‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन  । आगलागीले केवल भौतिक सम्पत्ति नष्ट गर्‍यो, तर नेपाली समुदायको माया, सहयोग र समर्थनले हाम्रो आत्मबल बढाएको छ । तपाईंहरूको शब्द, तपाईंहरूको साथ, तपाईंहरूको माया नै हाम्रो ठूलो बल हो । भाट–भटेनी परिवारले पुनर्निर्माणमा ढिलाई गर्ने छैन । हामी फेरि उभिनेछौं । तपाईंहरूको साथमा, भविष्यलाई अझ उज्यालो बनाउनेछौं ।’

भाटभटेनी लूटपाट गरेका तस्बिरहरू छन् । त्यो भन्दा बेसी भाटभटेनी जलाउन आएका मान्छेहरूलाई कर्मचारीहरूले धर्धरी रोएर नजलाउन गरेको अनुनय विनय विरुद्ध सैतानी ताण्डव मच्चाइरहेको दृश्यहरूले मनै पोल्छ । १२ वटा शाखा नष्ट र ९ वटामा तोडफोड अनि लूटपाट मच्चाएपछि मीनबहादुरले भनेका छन्, ‘भाटभटेनी जल्दा छाती चिराचिरा भएको छ, तर मसँग रुने छुट छैन, हजारौंको सपना ब्यूँताउनुछ ।’ 

खरानी भएका १२ शाखा मुख्य कारोबार गर्ने शाखा थिए, जसले दैनिक कम्तीमा ५ करोड रुपैयाँ बराबरको कारोबार गर्थे। कम्पनीका अनुसार, भाटभटेनीमा करिब १० हजार नेपाली काम गर्छन्, जसमध्ये करिब ५ हजार कर्मचारी प्रभावित शाखामा कार्यरत थिए । दसैँको मुखमा ५ हजार कर्मचारी संकटमा परेका छन् । ५ हजार कर्मचारी संकटमा पर्दा, अरबौं सम्पती खरानी बन्दा घाटा कसलाई भयो ?  अन्तत देशलाई होइन, नेपालीलाई होइन ?

‘जेनजी’ पुस्ताले स्वतन्त्रता मागेका हुन् । आफ्नो अस्तित्व र अधिकार मागेका हुन् । सुशासन खोजेका हुन् । उनीहरू चाहान्छन्, देश समृद्ध बनोस् । देशभित्र अवसरका तमाम ढोकाहरू खोलियोस् । अर्थात् भोलीको सुन्दर भबिष्यको नै हो । त्यसको लागि शुसासन, ‘राष्ट्रिय पुँजीको विकास मार्फत रोजागरीका सृजना प्रारम्भ बिन्दू हो । देशभित्र रोजगारी सृजना गर्नेको पहिलो सूचीमा पर्छन्, मीनबहादुर गुरुङ । अब यहाँनिर प्रश्न उठ्छ, ‘मीनबहादुर गुरुङहरूलाई खरानी बनाएर ‘जेन-जी’हरूले बनाउन खोजेको देश कस्तो हो ?’  लाग्छ, ‘जेनजी’ आन्दोलनमाथि यो प्रश्न गर्नु अन्याय हुन्छ । किनभने, हामीलाई गहिरो विश्वास छ, ‘यो अगजानी असली ‘जेनजी’हरूले गरेका होइनन् ।’ उनीहरूले जारी गरेको आचारसंहिता र बोकेको आदर्श विपरित उनीहरूकै आन्दोलनलाई ‘हाइज्याक’ गर्ने अपराधीहरूले गरेका हुन् । उनीहरू मीनबहादुर गुरुङको भन्दा बढी ‘जेनजी’ पुस्ताको शत्रु हुन् । किनभने उनीहरूले ‘जेनजी’ले खोजिरहेका सुन्दर भोलीका सबैभन्दा ठूलो अबरोधक र शत्रु हुन् ।

गलामा रातो चन्द्र र सूर्य अंकित देशको प्रिय राष्ट्रिय झन्डा भिरेर राष्ट्रिय सम्पत्ति र सम्पदामा आगो झोस्नेहरूले नै १२ वटा भाटभटेनीका शाखामा आगो झोसेका हुन् । अब मीनबहादुर गुरुङले होइन, प्रहरी वा प्रशासनले पनि होइन आफ्नो सुन्दर भोलिका लागि आफ्नो अमूल्य आजलाई बलिदान गर्न हिँडेका ‘जेनजी’हरूले उनीहरूको खोजी गर्नुपर्छ । उनीहरूको नाङ्गेझार पार्नुपर्छ । किनभने यो देशमा मीनबहादुर गुरुङहरूले आत्मसम्मान गुमाएर पलायन रोज्यो भने सबैभन्दा बढी असर उनै ‘जेनजी’हरूलाई पर्नेछ । 

काठमाडौंको बौद्धस्थित ध्वस्त भाटभटेनी सुपरमार्केट्स 

मीनबहादुरहरूमाथि आक्रमणको अर्थ 
दुर्गम खोटाङको आदिवासी जनजाति परिवारको किसान परिवारमा जन्मिएका मीनबहादुरमाथिको आक्रमण यो पहिलो होइन । उनीमाथि हमलाको लामो श्रृंखला छ । त्यो पनि सबै खालका जोर–जुलुम र हमला । श्रृंखलाबद्ध र संगठित हमला । कहिले राज्य लाग्छ, अदालत, प्रशासन र प्रहरीबाट प्रहारको श्रृंखला चलाइन्छ । सामान्य होइन सुसज्जित हमला । कहिले विभिन्न अपराधिक समूह लाग्छ, भौतिक आक्रमणको श्रृंखला चलाइन्छ ।  १५ चैत २०८१ काठमाडौंमा राजावादीले प्रदर्शनमा कोटेश्वर शाखामा लुटपाट मच्चाइएको थियो । 

तथ्यांकअनुसार नेपालका २० प्रतिशत धनीसँग ५६.२ प्रतिशत सम्पत्ति छ । तर, यसअघिका तथ्यांक हेर्दा पनि हाम्रा धनीहरूले मुलुक विपदमा परेका बेला सहयोग गरेको देखिँदैन । बरु संकटहरूमा पुँजीवादी र पुँजीपतिहरूको कुरूप उपस्थीति पो देखिन्छ । जहिल्यै पनि राज्यलाई संकट आइलाग्दा मीनबहादुर गुरुङ सहयोग गर्छन् । बाढीपीडित, भूकम्पपीडित, आगलागीपीडित तथा अनेक समस्यामा परेकालाई सहयोग गरेको धेरै लामो सूची राखेर बसेका छन् । तर, माथिका अर्बपतिहरूसँग सूची छ ? गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग दिए । उक्त अस्पताल अहिले निर्माणाधीन अवस्थामा छ । 

कोभिडका बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा उनले सहयोग हस्तान्तरण गरेका थिए । त्यसअघि २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए । ११ करोड लागतमा इमर्जेन्सी भवन बनाइदिएका थिए भने ईएचएस भवन १५ करोड लागतमा तयार पारिदिएका हुन् । कैयन गरिबका सन्तानहरूलाई निशुल्क डाक्टर पढाइदिएका छन् ।

दुनियाँका लगानीकर्ताहरूलाई देशभित्र ल्याउनु पर्ने समयमा आतंक सृजना गरेर सबै लगानीकर्ताहरूलाई पलायन हुन बाध्य पार्नेहरू ‘जेनजी’ पुस्ताको सबैभन्दा ठूला शत्रुहरू हुन् । मीनबहादुरहरूलाई खरानी बनाएर आफ्नो स्वार्थको रोटी सेक्नेहरू बाहिर र भित्र कता–कता छन् ? यसका अन्तरकथाहरू खोज्न ढिला भयो की ?

हरेक वर्षजसो नेपालका अर्बपतिहरूको सूची विभिन्न संस्थाले प्रकाशन गर्छ । दश जनाको शीर्ष सूचीमा अरु नै छन् । ती १० हाम्रा अर्बपतिहरूको सम्पति वर्षमा ४० अर्ब रुपैयाँले बढिरहेको छ । सम्पति ४० अर्बले बढ्छ, तर उनीहरू मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नमा जहिल्यै पुछारमा देखिन्छन् । गएको वर्ष वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट सबैभन्दा बढी कर तिर्ने कम्पनी थियो ।

‘जेनजी’हरूले खोजेको सुशासन हो । सायद राज्य भ्रष्ट हुँदा सबैभन्दा बढी मारमा पर्ने एक जना मीनबहादुर पनि होलान् ? सबैभन्दा बढी सुशासन उनैलाई चाहिएको छ । एक जना प्रतिष्ठीत उद्योगी नेताको घर, पार्टी कार्यालयको आँगन वा कुनै बिचौलियाको दैलोमा रहर होइनले बाध्यताले पुग्छन्, यतिकुरा ‘जेनजी’ले बुझेकै हुनुपर्छ । माओवादीको आँगनमा वा कांग्रेसको दैलोमा वा एमालेका घरमा उनी किन गए होलान् ? मुलुकमा सुशासन भएको भए उनी ढुक्क नक्सालमा बसेर व्यापार गर्ने थिए । त्यसैले जेनजीलाई जत्तिकै सुशासन मीनबहादुर गुरुङहरुलाई चाहिएको छ होइन ? जेनजी जस्तै यो बनिबनाउन संरचनाबाट प्रताडित उनी पनि होलान् सायद ?

एक जना प्रतिष्ठीत उद्योगी नेताको घर, पार्टी कार्यालयको आँगन वा कुनै बिचौलियाको दैलोमा रहर होइनले बाध्यताले पुग्छन्, यतिकुरा ‘जेनजी’ले बुझेकै हुनुपर्छ । माओवादीको आँगनमा वा कांग्रेसको दैलोमा वा एमालेका घरमा उनी किन गए होलान् ? मुलुकमा सुशासन भएको भए उनी ढुक्क नक्सालमा बसेर व्यापार गर्ने थिए । त्यसैले जेनजीलाई जत्तिकै सुशासन मीनबहादुर गुरुङहरुलाई चाहिएको छ होइन ? 

न्यायपालिका, कार्यपालिका, संवैधानिक निकाय सबै सबैले निर्णय गरेपछि मालपोत तिरेर जग्गा किन्छन्, जेल जान्छन् उनी । कर बुझाउने पहिलो नम्बरमा उनी छन्, करकै मामिलामा मुद्दा हालिन्छ उनीमाथि । सर्वोच्चमा यस्तै प्रकृतिको मुद्दाको दशकौंदेखि फैसला कुरेर बसेका करिब ३० अर्बभन्दा बढीका मुद्दा विचाराधीन छन् । भाटभटेनीको नजिरले ३० अर्ब बढी कर उठ्नसक्छ । तर तोक आदेश हुन्छ उनैमाथि मात्रै । मीनबहादुर माथिको आक्रमणको बहुआयमिक पाटाहरू छन् । बिस्तारै खुल्दै जालान् । तर यहाँनिर एउटा सोध्नुपर्ने प्रश्न हो, ‘मीनबहादुरमाथिको निरन्तरको यो हमला नेपाली भएर हो या गुरुङ भएर ?’ यो प्रश्नको सप्रसङ्ग व्याख्या अलि खरानीहरू उडीगएपछि समयले गर्ने नै छ । यहाँनिर मीनबहादुर गुरुङ माथि सधैं सधैं हमला भइरहदा सोध्नु पर्ने अर्को प्रश्न हो, ‘के यो देश मीनबहादुर गुरुङहरुको पनि होइन र ?’ 

मीनबहादुर प्रश्न रहित भने होइन । पछिल्लो प्रश्न जोडिएको छ, ‘नेकपा (एमाले) र उसको पार्टी कार्यालय निर्माण ।’ मीनबहादुरको यो सहयोग पवित्र भावनाले थियो होला, तर बहुसंख्यक नेता र कार्यकर्ताहरूले यो निर्णयबाट चित्त दुखाएका छन् । त्यही कारण पार्टीभित्र भाँडभैलो सृजना भयो । कारबाहीको अवस्था बन्यो । फेरि यसले दीर्घकालसम्म प्रश्न उठाइरहने पनि देखिन्छ । जसको भवन बनाइदिने घोषणा गरेका छन्, त्यही पार्टीका बहुसंख्यक नेता तथा कार्यकर्ताहरूले मन अमिलो गरेका छन् भने मीनबहादुर अघि किन सर्ने ? मलाई लाग्छ, ‘मीनबहादुर यो निर्णयबाट पछि हट्नुपर्छ ।’ यसले न एमालेका नेता तथा कार्यकर्ताहरूको मन खुशी हुन्छ । न, मीनबहादुर गुरुङलाई नै लाभ हुन्छ । 

 

अन्तमा, फेरि भनौं ‘जेनजी’ ले खोजेको भने सुन्दर र समृद्ध देश निर्माण हो । राष्ट्रिय पुँजीको विकास गरेर रोजगारीहरू पर्याप्त सृजना नगरेसम्म त्यो दिशामा देश अघि जानै सक्दैन । दुनियाँका लगानीकर्ताहरूलाई देशभित्र ल्याउनु पर्ने समयमा आतंक सृजना गरेर सबै लगानीकर्ताहरूलाई पलायन हुन बाध्य पार्नेहरू ‘जेनजी’ पुस्ताको सबैभन्दा ठूला शत्रुहरू हुन् । मीनबहादुरहरूलाई खरानी बनाएर आफ्नो स्वार्थको रोटी सेक्नेहरू बाहिर र भित्र कता–कता छन् ? यसका अन्तरकथाहरू खोज्न ढिला भयो की ?  बालेनहरु, सुदन गुरुङहरु भनिरहेका छन्,‘सुन्दर देश निर्माण गर्छौं ?’ देश निर्माण त सरकारी र नीजि दुबै क्षेत्र मिलेर बनाउने होला ? मीनबहादुर गुरुङ जस्ता राष्ट्रिय पुँजीपतिलाई खरानी बनाएर कसरी बन्छ देश ?

बरु बालेन, सुदनहरुले मीनबहादुरको आँसुको कथा पढुन् । यदि त्यसो गर्ने सक्यो भने जेनजीहरुको कथा र मीनबहादुरको कथा उस्तै-उस्तै भेटिनेछ । १५ चैत २०८१ को हमला, २४ भदौ २०८२ को हमलाका अन्तरकथाहरु उस्तै भेटिन सक्छ ।जेनजीहरुको भोलीको शत्रु र मीनबहादुरको आजको शत्रु एउटै भेटिनेछ । ढिला नगरौं !

 

लेखक चिनारी

राजेश राई
राई नयाँ पेजका प्रधान सम्पादक हुन् । लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७