बैंकबाट १८ किलो सुन चोरी, बिलबिनाको सुन नकिन्न प्रहरीको सूचना

काठमाडौँ : संसदभवनको पश्चिमतर्फ अर्थात् पानी ट्याङ्कीनेर रहेको राष्ट्रिय वाणिज्य बैंकबाट नगद ५ करोड र १८ किलो सुन चोरी भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका दौरानमा सो बैंकबाट लुटपाट भएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले खुलासा गरेका हुन् ।
गभर्नर पौडेलले एक पोडकास्टमा दिएको अन्तर्वार्तामा भने, 'संसद् भवनको बाणिज्य बैंक शाखाबाट ३७/३८ करोड रुपैयाँ बराबरको लुटपाट भएको छ ।' पोडकास्टमा वाणिज्य बैंकमा 'सिरियस' लुटपाट भएको भन्दै उनले दुःख व्यक्त गरे ।
जेनजी प्रदर्शन साम्य भएपछि गभर्नर पौडेलले भदौ २६ गते संसद् भवनस्थित बाणिज्य बैंकको अनुगमन गरेका थिए । हालसम्म, बैंकले चोरीबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक गरेको छैन । यद्यपि, गभर्नर पौडेलले वाणिज्य बैंक लुटपाटको तथ्याङ्क खुलासा गरेका छन् ।
बैंकर्स एसोसिएसन र नेपाल राष्ट्र बैंकका अनुसार, देशभर ६८ वटा बैंक शाखा र ६९ एटिएममा क्षति पुगेको छ । यता, चितवनको भरतपुरमा एटिएम मेसिन लुटिएको भए पनि पैसा निकाल्न असम्भव भएको गभर्नरले पोडकास्टमा बताएका छन् ।
गभर्नर पौडेलका अनुसार लुटपाटमा संलग्न व्यक्तिहरूलाई पहिचान गर्ने कार्य भइरहेको छ। सीसीटीभी फुटेजको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । घटना लगत्तै बैंकर्स एसोसिएसनले प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरे पनि विस्तृत र अन्तिम विवरण अझै सार्वजनिक गरिएको छैन ।
यता, प्रहरी परिसर काठमाडौँले बिलबिनाका सामान नकिन्न सार्वजनिक अपिल गरेको छ । जेन-जी आन्दोलनका क्रममा लुटपाट र चोरी भएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत गराएको हो ।
प्रदर्शनपछि बैंक तथा वित्तीय संस्था र व्यक्तिका घर र व्यापारिक प्रतिष्ठानहरूबाट लुटपाट भएकाले यस्ता सामान बिक्रीका लागि ल्याउन सक्ने आशंका गर्दै प्रहरीले बिल भर्पाही हेरेर मात्रै सुनचाँदी र गरगहना खरिद गर्न सूचित गरेको हो ।
सूचना र आह्वानलाई अवज्ञा गरेमा अपराध कानुनअनुसार खरिद गर्नेलाई पनि कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।