जेन-जीका प्रिय भिक्टर पौडेल भन्छन् : पार्टी खोल्ने र राजनीति जाने कुनै योजना छैन
‘स्वतन्त्र वा जुनसुकै पार्टीका राम्रा मनले राजनीतिमा आएका युवाहरुलाई मेरो साथ र समर्थन रहनेछ’

काठमाडौं : ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक सोसियल कम्युनिकेटर भिक्टर पौडेलले आफू पार्टी खोल्ने र राजनीतिमा जाने कुनै योजनमा नरहेको बताएका छन् । केही सञ्चार माध्यमहरुले ‘यो-यो’सँग मिलेर पार्टी खोल्न लागेको भन्दै ‘मिडिया ट्रायल/मिस इन्फरमेसन’ गरिरहेको उनको भनाई छ ।
पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केही अनलाइनहरुले भिक्टर पौडेलले यो–योसँग मिलेर पार्टी खोल्दैछ भनेर ‘मिडिया ट्रायल/मिस इन्फरमेसन’ गरिरहेका छन् । यो पोष्टमार्फत सबैलाई स्पष्ट पार्न चाहन्छु-अहिलेसम्म मेरो राजनीतिक पार्टीमा जान कुनै चासो छैन। समाजलाई योगदान दिन राजनीतिमात्रै गर्नुपर्छ भन्ने छैन । म त राजनीतिभन्दा पनि अरू धेरै तरिकाबाट समाजलाई योगदान दिन सक्छु जस्तो लाग्छ।’
उनले सधैंभरी कुनै पार्टी वा व्यक्तिको पक्षमा नभई देशमा राम्रा मान्छे र युवाहरु अघि आउनु पर्ने उनको भनाई छ । उनले लेखेका छन् ‘राजनीति सम्बन्धमा मेरो स्पष्ट धारणा भनेको–म सधैंभरि कुनै पार्टी वा व्यक्तिको पक्षमा नभई देशमा राम्रा मान्छे र युवाहरू अगाडि आउनुपर्छ भन्ने सोच मात्रै छ।’
पौडेलले जेनेरेशन ग्याप मिलाउन युवाहरु राम्रो मनले राजनीतिमा आउनुपर्ने पनि बताएका छन् । भनेका छन्, '‘युवाहरू राम्रो मनले राजनीतिमा आउनुहोस्, मेरो साथ र समर्थन सधैं रहने चाहे तपाईं जुनसुकै पार्टीमा हुनुहोस् वा स्वतन्त्र भएर आउनुहोस् ।’
पौडेलले सञ्चालन गरेको ‘रुटिन अफ नेपाल बन्द’ युवा पुस्ताका लागि भरपर्दो सूचनाको स्रोत मात्र बनेको छ । यो पेजलाई समाजमा सकारात्मक सन्देश फैलाउने माध्यम बनाएर उनी युवाविच लोकप्रिय छन् । उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह निकट मानिन्छन् । युवाहरुको विचमा रुटिनेको परिचय बनाएका पौडेलले बालेनसँग मिलेर पार्टी खोल्ने चर्चाका विच उनको यो स्पष्टीकरण आएको हो ।