जेनजीको प्रदर्शनसँगै सुरक्षाकर्मीको बाक्लो उपस्थिती


२०८२ भदौ २३ सोमबार ११:०६ बजे

काठमाडौं । काठमाडौंमा जेनजीको प्रदर्शनसँगै सुरक्षाकर्मीको उपस्थिती बाक्लो बनाइएको छ ।

सहरका विभिन्न ठाउँबाट भेला भएका युवाहरू माइतीघर मण्डलामा नाराबाजी गरिरहेका छन् ।

भ्रष्टाचार, राजनीतिक बेथिति र नातावादविरुद्ध उनीहरूले प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन्। 

‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।

जेनजीको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षाकर्मीको बाक्लो तैनाथी गरिएको छ । सोमबार बिहानैदेखि मुख्य चोकहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

प्रदर्शन शान्तिपूर्ण बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले आवश्यकतानुसार प्रहरी परिचालन गरिएको बताए।

माइतीघर मण्डलासहित काठमाडौंका मुख्य ठाउँहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसका साथै जेनजीको प्रदर्शनमा घुसपैठ हुनसक्ने र तोडफोड तथा अराजकता फैलनसक्ने भन्दै सादा पोशाकका प्रहरी पनि परिचालन गरिएको एसपी बोहराले बताए ।

यसका साथै सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) बाट पनि सूचकहरूको परिचालन गरिएको छ ।

जेनजीले आइतबार मात्रै प्रशासनसँग माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शनका लागि ठाउँ मागेका थिए । प्रशासनले अनुमति दिएपछि उनीहरूले आज प्रदर्शनको सुरुवात गरिसकेका छन् ।

जेनजीले काठमाडौंबाहिर बुटवललगायतका सहरमा पनि प्रदर्शन गरिरहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७