विद्यार्थी नेताको नजरमा जेनजी आन्दोलन

जेनजीको आन्दोलनलाई भड्काउने र स्वार्थ पूरा गर्ने षडयन्त्र हुन सक्छः सुवास जिसी


२०८२ भदौ २३ सोमबार ०८:३० बजे

भ्रष्टाचार, बेथिती, कुशासनविरुद्ध आज (भदौ २३ गते) ‘जेनजी’ पुस्ताले काठमाडौंमा विरोध प्रदर्शन गर्दैछन् । कुनै संगठनमा आवद्ध नभएका बरु सामाजिक सञ्जाल र प्रविधिमा पोख्त नयाँ पुस्ताले गर्ने स्वतःस्फूर्त आन्दोलन कस्तो हुन्छ भन्ने आम चासो बनेको छ ।

आन्दोलनलाई विभिन्न व्यक्ति, समूह, राजनीतिक दल तथा संघसंगठनहरूले समर्थनसमेत गरिरहेका छन् । त्यसका साथै युवाहरूको आन्दोलनमा घुसपैठ हुने र भड्किने सम्भावनासमेत व्यक्त गरिरहेका छन् ।

जेनजी पुस्ताको आन्दोलनप्रति सत्तारुढ तथा विपक्षी दलका समेत गरी १७ विद्यार्थी संगठनहरूले समेत समर्थन गरेका छन् । आइतबार विज्ञप्ति नै प्रकाशित गरी उनीहरूले ‘सामाजिक सञ्जाल बन्द हुँदा अभिव्यक्ति स्वतन्त्रता संकुचित भएको तथा कतिपय व्यवसायमै असर गरेको’ उल्लेख गरेका छन्।

विद्यालय शिक्षा विधेयकमा भएका केही प्रावधानविरुद्ध आन्दोलनरत १७ विद्यार्थी संगठनहरूको समर्थनले जेनीको आन्दोलनलाई निश्चय नै सघाउ पुग्ने छ । र, आन्दोलनमा हुने भड्काव रोक्न मद्दत गर्नेछ। 

यसै सन्दर्भमा जेनजीको आन्दोलन कसरी अगाडि बढ्ला र यसले के कस्तो असर पार्ला भनेर हामीले १७ विद्यार्थी संगठनमा आवद्ध एक संगठन अखिल (छैठौं) का अध्यक्ष सुवास जिसीसँग केही प्रश्न सोधेका छौँ ।

भ्रष्टाचार र बेथितीविरुद्ध युवा पुस्ता स्वतःस्फूर्तरुपमा सडकमा आउन थालेको छ, यस्ता कुरामा त विद्यार्थी संगठनहरूको अग्रसरता हुनुपर्ने होइन र ?
यही कुराको महसुस हामी सबै विद्यार्थी संगठनलाई भएको छ। त्यही भएर नै हामी एक भएका छौं । सरकारमा भएका पार्टीका साथीहरू पनि सँगै छौं । विद्यार्थी आन्दोलन भनेको प्रतिपक्षी आन्दोलन हो। यो सत्ताका राम्रा कामहरुको समर्थन र गलत कामको आलोचना र विरोध गर्ने मञ्च हो।

अहिलेको यो आन्दोलनले विद्यार्थी संगठनको औचित्यलाई थप पुष्टि गरेको छ र विद्यार्थीका मागहरू पूरा गराउने दायित्व पनि उनीहरुले नै पूरा गराउनुपर्छ भन्ने स्पष्ट भएको छ।

जेनजीको आन्दोलन कसरी अगाडि बढ्ला ?
जेनजीको आन्दोलन स्वतःस्फूर्त जस्तो देखिन्छ । यो कस्तो खालको आन्दोलन हो र यो भविष्यमा कसरी अगाडी बढ्छ ? त्यो आगामी दिनमा नै भन्न सकिएला । अहिले प्रारम्भिक रूपमा दुई तीनवटा कुराहरूलाई विचार गर्न सकिन्छ । पहिलो उनीहरूले अगाडि सारेका खासगरी दुईवटा मागहरू सामाजिक सञ्जाललाई खुला गर्नुपर्ने र भ्रस्टाचारीलाई कारबाही गर्नुपर्ने माग सही छन् ।

जेनजी पुस्तामा अब राजनीतिलाई फरक कोणबाट बुझ्ने र त्यसप्रकारको चेतना विकास गराउन सकिने संकेतलाई हामीले सकारात्मक मान्नुपर्छ । उनीहरूले राजनीतिको सही बोध गरुन्, दर्शन, विचार, कार्यक्रम, नैतिकता जस्ता विषयहरूमा उनीहरूको ध्यान जाओस् भन्ने अपेक्षा राख्न सकिन्छ ।

कतिपयले देशमा अराजकता भड्काउन जेनजीलाई उचालिएको भन्छन् नि ?
हो, उनीहरूमध्य केहीले श्रीलंका, बङ्गलादेश र इन्डोनेशियाको उदाहरण दिइरहेका छन् । ती देशहरूमा अराजकता मात्रै भएको हो, त्यहाँ गरिएको अराजकताले मानिसहरू मारिन बाहेक अर्को उपलब्धि भएको छैन । त्यसकारण अराजकताको बीउ जेनजीलाई रोपाउने षड्यन्त्र गरिएको हो भने त्यो गम्भीर गल्ती हुनेछ । खासगरी राजावादी र लोकप्रियतावादीहरूले यो आन्दोलनलाई अर्को दिशा दिन सक्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिँदन । 

आदोलन भड्किने सम्भावना चाहिँ कत्तिको देख्नुहुन्छ ?
हामीले स्वस्फूर्त प्रकट भएको यो विचारलाई सम्मान गर्छौं । तर विचारविहीन, दिशाविहीन, नेतृत्वविहीन, संगठन विहीन सञ्चालन हुने यस्ता आन्दोलनहरू निष्कर्षमा पुग्ने र निकास दिने भन्दा पनि निहित स्वार्थमा प्रयोग हुने, भड्किने र अर्को समस्या सिर्जना गर्ने खालका हुन सक्छन् । जेनजी आन्दोलन त्यस्तो नहोस् ।

यो आन्दोलनले साँच्चिकै वैचारिक स्पष्टता प्राप्त गरोस् र भ्रस्टाचार विरुद्धको शक्तिशाली आन्दोलन बनोस् हार्दिक  शुभकामना ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७