भोली आइजिपी थापाको बिदाई कार्यक्रम, कुन दर्जालाई कति बजे ?

काठमाडौं : नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकमा नियुक्त भएका दीपक थापा ५ महिना १३ दिन नेपाल प्रहरीको नेतृत्व गर्ने गरेर भोली बिदाई हुदैछन् । प्रहरीको ३० वर्षे सेवाहदका कारण भोली अर्थात् १८ भदौबाट अवकाश पाउनेछन्।
भक्तपुरको सिपाडोलका स्थानीय थापा स्थायी शिक्षकको जागिर छाडेर प्रहरीमा भर्ना भएका हुन्। उनी २०६३ भदौमा डिएसपी, २०७२ साउनमा एसपी, २०७५ को फागुनमा एसएसपी, २०७९ को असारमा डिआइजी तथा २०७९ को चैतमा एआइजीमा बढुवा भएका थिए।
प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले दिउँसो २ बजे हुने कार्यक्रममा हेडक्वार्टरमा कार्यरत सिपाहीदेखि माथिका सबै र अन्य युनिटका प्रहरी वरिष्ठ उपरीक्षक र सोभन्दा माथिका अधिकृतलाई उपस्थितिका लागि समय तोकेर सर्कुलर पठाएको छ । प्रहरी अस्पतालको हकमा अतिरिक्त महानिरीक्षक मात्रै सहभागी हुन भनिएको छ ।
१ नम्बर पोशाकमा उपस्थित हुनुपर्ने जनाउँदै बिदाईका लागि अधिकृत तहभन्दा मुनिका १ः२५ बजे, इन्स्पेक्टरहरु साढे १ बजे,डिएसपी र एसपी १ः३५ बजे,एसएसपी १ः४० बजे, डिआइजीहरु पौने २ बजे,एआइजीहरुलाई १ः५० बजे सभा हलमा छिरिसक्न उर्दी जारी गरिएको छ । हेडक्वार्टरमा कर्मचारीको रुपमा कार्यरत जुनियर अधिकृत र जवानहरुलाई ३०, ३० जनाको संख्यामा मात्रै बिदाई समारोहमा पठाउनुपर्ने छ ।
आज जारी गरिएको परिपत्रसँगै प्रशासन शाखाले सियुजी शाखालाई सबैलाई एसएमएसमार्फत् जानकारी गराउन निर्देशन दिएको छ । भोलिको कार्यक्रममा महानिरीक्षक थापासँगै उनको ब्याचका एआईजीहरु सुदीप गिरी र टेकबहादुर तामाङको पनि बिदाई गरिँदै छ ।