एमाले विधान महाधिवेशन : सूदुर पश्चिमको ४९ जना बोले, ४० जना विद्याको पक्षमा उभिए
एमालेको विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा मात्रै समूहगत छलफल गर्न अध्यक्ष ओलीले निर्देशन दिएका थिए । तर, छलफल भने विद्या भण्डारीको सदस्यता विवादमा केन्द्रीत भएको छ ।
2025-09-06-17-32-41.jpg)
काठमाडौं : नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको समूहगत छलफल पूर्व राष्ट्रपति तथा पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता विवादमा केन्द्रीत भएको छ । विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा समूहगत छलफल गर्ने कार्यसूची भएपनि छलफल भण्डारीको सदस्यता केन्द्रित भएको छ ।
समूहगत छलफल सूदुर पश्चिमको समूहगत छलफलमा ४९ जनाले बोलेका थिए । ४९ मध्ये ४० जनाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पक्षमा बोलेका छन् । उनीहरुले भण्डारीलाई पार्टीमा रोक्न नहुने तर्क राखेका थिए । भण्डारीलाई रोकिए पार्टीको मिसन २०८४ असफल हुने मत राखेका थिए ।
शनिबार १० वटा समूहमा विभाजन गरी प्रतिनिधिहरूलाई आ–आफ्ना क्षेत्रमा तोकिएको प्रतिवेदनमाथि छलफल गर्न लगाइएको छ। यसअघि शुक्रबार महाधिवेशनको प्रारम्भिक सत्रमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए।
निर्वाचन आयोग संयोजक डा. विजय सुब्बा, लेखा आयोग संयोजक डा. पुष्प कँडेल, अनुशासन आयोग संयोजक केशव वडाल र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले आ–आफ्ना प्रतिवेदन महाधिवेशनमा पेस गरेका छन् ।
अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुतिपछि प्रतिनिधिहरूलाई स्पष्ट निर्देशन दिँदै फरक मत वा असहमति भए त्यसलाई आ-आफ्ना समूहमा विस्तृत बहसमार्फत प्रस्तुत गर्न आह्वान गरेका थिए ।