अतिक्रमित जग्गा खाली गर्न त्रिविको सात दिने अन्तिम अल्टिमेटम, नमाने बल प्रयोग
४ सय रोपनी जग्गा अतिक्रमणमा, त्रिवि अब एक्सनमा
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कीर्तिपुरस्थित आफ्नो स्वामित्वको अतिक्रमित जग्गा र भवन खाली गर्न सम्बन्धित संघसंस्था तथा व्यावसायिक फर्मलाई सात दिनको अन्तिम अल्टिमेटम दिएको छ । तोकिएको समयभित्र खाली नगरे नेपाल सरकारको सहयोगमा बल प्रयोग गरेर हटाइने त्रिविले चेतावनी दिएको छ ।
त्रिवि रजिस्ट्रारको कार्यालयअन्तर्गत सामान्य प्रशासन महाशाखाले मंसिर ८ गते छुट्टाछुट्टै पत्र पठाएर यो निर्देशन दिएको हो । पत्र पाउनेमा बुढाथोकी नर्सरी, थापा नर्सरी, रसकटर पेट्रोल पम्प र राधास्वामी सत्संग व्यास छन् । पत्र प्राप्त भएको मितिले सात दिनभित्र जग्गा खाली गरी विश्वविद्यालयलाई हस्तान्तरण गर्न भनिएको छ ।
त्रिविका अनुसार कार्यकारी परिषद्को निर्णयबमोजिम वैशाख ४ गते गोरखापत्रमा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । उक्त समयसीमा सकिँदा पनि जग्गा खाली नभएपछि विश्वविद्यालयले अन्तिम ताकेता गरेको हो । दिइएको समयसीमा आगामी सोमबारदेखि सात दिनमा पूरा हुनेछ ।
सरकारले २०८१ मा गठन गरेको त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजिबिन समितिको प्रतिवेदनले विश्वविद्यालयको करिब २४ सय रोपनी जग्गा हिनामिना र अतिक्रमण भएको औँल्याएको छ । समितिका अनुसार कीर्तिपुर आसपास करिब एक हजार रोपनी, क्याम्पस तथा अन्य स्थानमा थप एक हजार रोपनी अतिक्रमित छ भने ललितपुरको पुल्चोकमा त्रिविको नाममा रहेको करिब चार सय रोपनी जग्गा वर्षौंदेखि विश्वविद्यालयको भोगचलन बाहिर छ ।
समितिले अतिक्रमणमा संलग्नलाई प्रहरी, प्रशासनलगायत राज्यका निकायमार्फत कारबाही गरी जग्गा फिर्ता लिन सुझाव दिएको थियो । प्रतिवेदन सार्वजनिक भएपछि विश्वविद्यालयले आफ्नो सम्पत्ति फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको हो । प्रवक्ता नविन्द्र भण्डारीका अनुसार प्रतिवेदनमा उल्लेख भएका र अनधिकृत भोगचलन भएका जग्गा फिर्ता ल्याउन विश्वविद्यालय लागिपरेको छ ।
त्रिविको जग्गा निजी क्षेत्रले मात्र नभई सरकारी निकायले पनि लामो समयदेखि भोगचलन गर्दै आएका छन् । त्यस्ता निकायसँग छलफलका लागि समिति गठन गरिएको त्रिविले जनाएको छ । त्रिवि क्रिकेट रंगशाला, ल्याबोरेटरी स्कुल, राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौं अनुसन्धान तथा शिक्षा केन्द्र (केसीआरई) र कीर्तिपुर नगरपालिकालगायतसँग छलफल गरी कानुनी सम्झौताबाट जग्गा प्रयोग गर्न दिने तयारी छ ।
तत्कालीन शिक्षामन्त्री महावीर पुनले २०८२ असोज २६ गते सार्वजनिक गरेको प्रतिवेदनअनुसार कीर्तिपुर परिसरभित्र त्रिविको ५०५०–३–१–१ रोपनी जग्गा छ । त्यसमध्ये दुई हजार रोपनीभन्दा बढी अतिक्रमित छ र धार्मिक संस्थासमेत १८ संघसंस्थाले जग्गा अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ ।
कृषि बागवानी केन्द्रले २८१ रोपनी, त्रिवि प्राध्यापक संघ, बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले १६० रोपनी, ल्याब स्कुल (हालको ल्याबोरेटरी मावि) ले १०९ रोपनी र काठमाडौं खानेपानी बोर्ड तथा खानेपानी तथा ढल निकास समितिले १०७ रोपनी जग्गा उपभोग गरिरहेका छन् ।
गणतन्त्र स्तम्भ निर्माणले ६० रोपनी, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले २५ रोपनी, राधास्वामी सत्संग व्यास नेपालले १५ रोपनी, नेपाल नेत्रज्योति संघले १० रोपनी र नेपाल प्राध्यापक संघले ६ रोपनी १२ आना जग्गा प्रयोग गरेका छन् । यसबाहेक नेपाल बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक, प्रहरी वृत्त बल्खु र कालीमाटी, महानगरीय प्रहरी वृत्त कीर्तिपुर, रक्तसञ्चार केन्द्र, नेपाल क्रिकेट संघ, कीर्तिपुर नगरपालिका, गिट्टी बालुवा डिपो र नेपाल विद्युत् प्राधिकरण कीर्तिपुर वितरण केन्द्रले पनि त्रिविकै जग्गामा कार्यालय खोलेका छन् । ग्लोबल आईएमई र नेपाल बैंकले भने भाडा तिर्दै आएका छन् ।
त्रिविको मूल गेटअगाडिको पेट्रोल पम्प, बागबानी, नर्सरी र राधास्वामी सत्संग केन्द्रलाई सात दिने पत्र दिइएको छ । कर्मचारी तथा प्राध्यापक संघलाई प्रयोग गर्न दिइएको जग्गा भाडामा लगाएर पेट्रोल पम्प सञ्चालन गरिएको छ भने नर्सरी र होटल पनि सञ्चालनमा छन् । ३५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गर्नेलाई आवश्यक परे बल प्रयोग गरेरै हटाउने त्रिविको तयारी छ ।
यसैबीच, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गत कात्तिक १८ गते सामाजिक सञ्जालमार्फत त्रिविको वर्षौंदेखि अनधिकृत रूपमा कब्जा गरिएको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको घोषणा गरेका थिए ।
.gif)

.png)




