त्रिभुवन विश्वविद्यालयले बाढीपीडित विद्यार्थीको १६ शीर्षकका शुल्क मिनाहा गर्ने
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले रसुवा भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको १६ शीर्षकका शुल्क मिनाहा गर्ने निर्णय गरेको छ ।
बाढीबाट प्रभावित त्रिविको वार्षिक तथा सेमेस्टर प्रणालीअन्तर्गत अध्ययनरत र नयाँ भर्ना हुन चाहने विद्यार्थीले सम्बन्धित स्थानीय तहको सिफारिस पेस गरेपछि शुल्क छुट पाउनेछन् ।
धरौटी तथा परीक्षा शुल्कबाहेकका शुल्क मिनाहा हुनेछन् । त्रिविले फाराम नम्बर १ मा उल्लेखित शुल्क मिनाहा गर्न सबै क्याम्पस, केन्द्रीय विभाग र केन्द्रलाई निर्देशन दिएको त्रिविका प्रवक्ता नविन्द्र भण्डारीले जानकारी दिए ।
त्रिविले क्याम्पस प्रवेश, विश्वविद्यालय दर्ता, शिक्षण, परिचयपत्र, खेलकुद, प्रयोगशाला, पुस्तकालय, छात्रावास, जरिबाना, शोधपत्र तथा विविध शीर्षकका शुल्क मिनाहा हुने बताएको छ । यस्तै पुस्तकालय, छात्रावास, प्रयोगशाला र विविध विद्यार्थी धरौटी शुल्कसमेत छुट हुने त्रिविले जनाएको छ ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका विद्यार्थी प्रभावित भएका छन् ।
तोकिएको शैक्षिक सत्रमा भर्ना भई अध्ययनरत तथा आगामी शैक्षिक सत्रमा भर्ना हुन योग्यता पुगेका विद्यार्थीले यो सुविधा पाउनेछन् । शुल्क मिनाहासम्बन्धी व्यवस्था आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्म पाँच वर्षका लागि लागू हुने त्रिविले बताएको छ ।
.gif)

.png)




