निर्वाचनसम्बन्धी कानुन समयमै नबन्दा चुनौती थपियो : निर्वाचन आयोग
काठमाडौं : निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण हुन नसक्दा निर्वाचन व्यवस्थापनमा थप चुनौती सिर्जना भएको जनाएको छ ।
शुक्रबार ललितपुरमा आयोजित आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कनसम्बन्धी सरोकारवालासँगको परामर्श छलफलमा आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन् ।
उनले कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा तथा सामाजिक सञ्जालबाट फैलिने गलत र भ्रामक सूचनाका चुनौती सम्बोधन गर्नुपर्ने भए पनि निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण नहुँदा समस्या हुन सक्ने बताए ।
भट्टराईले निर्वाचनसम्बन्धी कानुन सुधार, २०८४ सालमा हुने विभिन्न तहका निर्वाचनको पूर्वतयारी, प्रविधि तथा साइबर सुरक्षाको सुदृढीकरण र आयोगको संस्थागत क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताए ।
उनका अनुसार देशभरका सबै मतदान केन्द्रको भौगोलिक अवस्थिति पहिचान भइसकेको छ भने भौगोलिक सूचना प्रणालीसमेत अद्यावधिक गरिएको छ । अब त्यसलाई थप स्तरीकरण गरी मतदान केन्द्रका पूर्वाधारको अवस्थासमेत हेर्न सकिने प्रणाली विकास गर्ने काम भइरहेको छ ।
निर्वाचनका लागि आवश्यक स्रोतसाधन र शान्ति सुरक्षाको व्यवस्था गर्न संघीय सरकारमाथि निर्भरता बढी रहेको उल्लेख गर्दै उनले मतदाता शिक्षा र समन्वयलाई कार्यदल तथा स्थानीय तहबाट थप व्यवस्थित गर्ने रणनीति रहेको बताए ।
यसैबीच, भट्टराईले आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मका लागि तयार गरिएको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको पहिलो दुई वर्षको मध्यावधि मूल्याङ्कनमा हालसम्म २४ प्रतिशत क्रियाकलाप मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको जानकारी दिए ।
स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय निर्वाचनमार्फत लोकतन्त्रलाई सुदृढ बनाउने दीर्घकालीन सोचसहित चौथो रणनीतिक योजना तयार गरिएको आयोगले जनाएको छ ।
.gif)

.png)




