प्रधानमन्त्री कार्यालयका प्रमुख काम : भारत भ्रमणदेखि तल्लो अरुणको ठेक्कासम्म
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तिहार र छठपछिको अवधिमा प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायबाट भएका प्रमुख कार्यसम्पादनको विवरण सार्वजनिक गरेको छ ।
कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणमा कूटनीतिक सम्बन्ध विस्तार, नीतिगत तथा प्रशासनिक सुधार, सार्वजनिक खरिद व्यवस्थापन, विपद् व्यवस्थापन, सूचना प्रविधि, लगानी प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित काम समेटिएका छन् ।
प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमण गरेका छन् । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीसँग उच्चस्तरीय भेटवार्तासहित द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको कार्यालयले जनाएको छ ।
जेन जेड आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणका लागि अघि सारिएको एकीकृत प्याकेजको कार्यान्वयन अवस्थासमेत समीक्षा गरिएको छ । बाँकी काम शीघ्र टुङ्ग्याउन सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिइएको छ । नेपाल जेन जेड परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेशको मस्यौदा राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको छ । उक्त रकममध्ये एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको कार्यालयले जनाएको छ ।
नीतिगत तथा प्रशासनिक सुधार
संघ, प्रदेश र स्थानीय तहका वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच नीतिगत समन्वय कायम गर्न र कार्यक्रमको दोहोरोपना हटाउन पछिल्ला तीन आर्थिक वर्षका विवरणको तुलनात्मक अध्ययन गर्ने ढाँचा तयार गरिएको छ ।
सरकारी निकायबाट सञ्चालन भइरहेका सीपमूलक तालिमको गुणस्तर र प्रभावकारिता बढाउन तथा तीनै तहका सरकारका कार्यक्रमबीच दोहोरोपना हटाउन सुझाव दिने उद्देश्यले कार्यदल गठन गरिएको छ ।
सार्वजनिक निकायका कर्मचारीले आचारसंहिता पालना गरे–नगरेको, सेवा प्रवाहको अवस्था र सेवाग्राहीको सन्तुष्टिबारे अनुगमन गर्न विभिन्न जिल्लामा टोली परिचालन गरिएको छ । सदाचार शिक्षा तथा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
लामो समयदेखि अवरुद्ध सिंहदरबार प्रवेशको गेटपास प्रणाली आवश्यक प्राविधिक सुधारपछि पुनः सञ्चालनमा ल्याइएको छ ।
नयाँ ई–जीपी प्रणालीमा १ हजार ४५२ बोलपत्रदाता दर्ता
सार्वजनिक खरिद व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) सञ्चालनमा ल्याइएको छ । उक्त प्रणालीमा कात्तिक महिनामा एक हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन् ।
सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा व्यवस्थित गर्न ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरी जारी गरिएको छ ।
खरिद प्रक्रियालाई व्यवस्थित बनाउन चारवटा मानक बोलपत्र तथा खरिदसम्बन्धी कागजात तयार गर्ने गरी परामर्शदातासँग सम्झौता गरी कार्यादेश दिइएको छ । निर्माण तथा परामर्श सेवा खरिदका विषयमा २३ सार्वजनिक निकायलाई आवश्यक राय तथा परामर्श उपलब्ध गराइएको विवरणमा उल्लेख छ ।
सार्वजनिक निकायका प्राविधिक परीक्षण प्रतिवेदनमा उल्लेख भएका बेरुजु तथा अनियमिततासम्बन्धी विषयको अनुगमन गर्न चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली परिचालन गरिएको छ ।
विदेशी प्रविधि कम्पनीलाई लगानी सहजीकरण गर्ने तयारी
नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ तथा सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउने उद्देश्यले विदेशी प्रविधि कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति उपलब्ध गराउने विशेष लगानी सहजीकरण नीतिको तयारी अघि बढाइएको छ ।
राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामा विज्ञ तथा नीति प्रयोगशालाका पदाधिकारीबाट प्राप्त सुझाव समेटेर परिमार्जन गर्ने प्रक्रिया पनि अघि बढाइएको छ ।
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले राष्ट्रिय संवेदनशील सूचना पूर्वाधार पहिचान तथा संरक्षणसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा विभिन्न नियामक तथा सुरक्षा निकायका प्रतिनिधिबीच साइबर सुरक्षासम्बन्धी विषयमा छलफल भएको कार्यालयले जनाएको छ ।
तल्लो अरुणको पहिलो प्याकेजमा ११ अर्ब ४९ करोड भारुको ठेक्का
सन् २०१९ को लगानी सम्मेलनमा प्रस्तुत गरिएको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बीओओटी) ढाँचामा अघि बढाउन विकासकर्ता छनोट गरिएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा शिलान्यास गरेको उक्त आयोजनाको पहिलो प्याकेजका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान गरिएको छ ।
सरकारी सम्पत्तिको संरक्षण तथा व्यावसायिक उपयोगको सम्भावना पहिल्याउन नेपाल ट्रष्टको स्वामित्वमा रहेको धादिङको छत्रे देउरालीस्थित करिब १५ हजार रोपनी क्षेत्रमा अनुगमन गरिएको छ ।
.gif)

.png)




