ताप्लेजुङको निलगिरी माविमा शैक्षिक विकासका लागि श्रीमत् भागवत महायज्ञ हुने


२०८३ मङ्सिर ११ शुक्रबार १९:०१ बजे

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६, महलेस्थित श्री निलगिरी माध्यमिक विद्यालयमा उच्च शिक्षा, प्रविधिमैत्री सिकाइ वातावरण तथा संस्कृतयुक्त शिक्षा सञ्चालन गर्ने उद्देश्यलेश्रीमत् भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव आयोजना हुने भएको छ।

विद्यालयले आगामी २०८३ साल मंसिर २३ गतेदेखि २९ गतेसम्म महोत्सव आयोजना गर्न लागेको हो। महोत्सवमा युवा पण्डित श्री रमेश कोइरालाको मुखारविन्दबाट श्रीमद्भागवत कथा वाचन हुने आयोजकले जनाएको छ। साथै ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुतिसहित विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।

विद्यालयको शैक्षिक विकास, भौतिक पूर्वाधार निर्माण तथा गुणस्तरीय शिक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो। विशेषगरी संस्कृतयुक्त शिक्षा र प्रविधिमैत्री सिकाइ वातावरण निर्माणमा महायज्ञबाट संकलित सहयोग परिचालन गरिने आयोजकको अपेक्षा छ।

महोत्सवमा सहयोग गर्ने दाताहरूलाई सहयोग रकमका आधारमा विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।

आयोजकका अनुसार पाँच लाख रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दातालाई ताम्रपत्र, वेबसाइट तथा स्मारिका पुस्तकमा श्रीमान्रश्रीमतीसहित तीन पुस्ते विवरण प्रकाशन, चार तोला चाँदीको करुवा, सुनौलो फ्रेममा प्रशंसापत्र, फूलमाला तथा दोसल्लासहित बाजागाजाका साथ विद्यालय परिक्रमा गराएर सम्मान गरिनेछ।

त्यस्तै, तीन लाखदेखि पाँच लाख रुपैयाँभन्दा कम सहयोग गर्नेलाई तीन तोला चाँदीको करुवा, डेढ लाखदेखि तीन लाख रुपैयाँभन्दा कम सहयोग गर्नेलाई दुई तोला चाँदीको करुवासहित विभिन्न सम्मान प्रदान गरिनेछ।

एक लाखदेखि डेढ लाख रुपैयाँभन्दा कम सहयोग गर्नेलाई ताम्रपत्र, वेबसाइट तथा स्मारिकामा विवरण प्रकाशन, सुनौलो फ्रेमको प्रशंसापत्र, फूलमाला र दोसल्लासहित सम्मान गरिनेछ। ७५ हजारदेखि एक लाख रुपैयाँभन्दा कम सहयोग गर्नेलाई चाँदीको फ्रेममा प्रशंसापत्र र दोसल्ला प्रदान गरिनेछ।

त्यसैगरी, ५० हजारदेखि ७५ हजार रुपैयाँभन्दा कम, २५ हजारदेखि ५० हजार रुपैयाँभन्दा कम, १० हजारदेखि २५ हजार रुपैयाँभन्दा कम तथा पाँच हजारदेखि १० हजार रुपैयाँभन्दा कम सहयोग गर्ने दातालाई पनि सहयोग रकमअनुसार प्रशंसापत्र, दोसल्ला तथा स्मारिकामा विवरण प्रकाशन गरी सम्मान गरिने व्यवस्था गरिएको छ। पाँच हजार रुपैयाँभन्दा कम सहयोग गर्नेलाई प्रशंसापत्र र फूलमालासहित सम्मान गरिने आयोजकले जनाएको छ।

महोत्सव मूल समारोह समितिका अध्यक्ष धर्मराज घिमिरे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रत्नकुमार लिङ्देन तथा प्रधानाध्यापक मोहनचन्द्र साबाले सम्पूर्ण शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी, अभिभावक, पूर्वविद्यार्थी तथा देश–विदेशमा रहेका शुभेच्छुकहरूलाई महोत्सवमा सहभागी भई तन, मन, धन, वचन र कर्मले सहयोग गरिदिन आग्रह गरेका छन्।

विद्यालयको शैक्षिक उन्नयन र भावी पुस्तालाई गुणस्तरीय तथा संस्कारयुक्त शिक्षा प्रदान गर्ने लक्ष्यसहित आयोजना हुन लागेको महायज्ञलाई सफल बनाउन आयोजकले सबैमा हार्दिक निमन्त्रणा गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७