सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए, बागमतीमा सबैभन्दा बढी
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभर विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सातै प्रदेशमा ८३८ जना विशेषज्ञ चिकित्सक खटाएको छ ।
मन्त्रालयका अनुसार खटाइएका चिकित्सकमध्ये एमडी उत्तीर्ण ६१८, एमएस उत्तीर्ण १६८ र एमडीएस उत्तीर्ण ५२ जना छन् । प्रदेशगत रूपमा सबैभन्दा बढी बागमतीमा २०८ जना विशेषज्ञ चिकित्सक खटाइएका छन् ।
त्यस्तै कोशीमा १५४, लुम्बिनीमा १३३, गण्डकीमा १२९, मधेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णालीमा ५२ जना चिकित्सक परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश तथा स्थानीय तहका स्वास्थ्य संस्थाका लागि ५११ जना चिकित्सक खटाइएको छ । जसअनुसार बागमतीमा ११५, कोशीमा ९६, लुम्बिनीमा ८४, गण्डकीमा ८१, मधेशमा ५४, सुदूरपश्चिममा ५१ र कर्णालीमा ३० जना चिकित्सक पठाइएको छ ।
त्यसैगरी संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३२७ जना विशेषज्ञ चिकित्सक खटाइएको छ । यसअन्तर्गत बागमतीमा ९३, कोशीमा ५८, लुम्बिनीमा ४९, गण्डकीमा ४८, मधेशमा ३२, सुदूरपश्चिममा २५ र कर्णालीमा २२ जना चिकित्सक परिचालन गरिएको छ ।
संघीय सरकारले प्रदेशमा खटाएका चिकित्सकलाई सम्बन्धित प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्यक्षेत्रका आधारमा स्थानीय तहका स्वास्थ्य संस्थामा समेत परिचालन गर्न सक्ने व्यवस्था गरिएको छ ।
विशेषज्ञताका आधारमा सबैभन्दा बढी ८८ जना एनेस्थेसिया चिकित्सक खटाइएका छन् । त्यस्तै स्त्री तथा प्रसूति रोगमा ८१, जनरल सर्जरीमा ७२, हाडजोर्नीमा ७०, मेडिसिनमा ६७, जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिनमा ६२, आँखामा ६२, बालरोगमा ६०, दन्त सेवामा ५२ र मानसिक रोगमा ३२ जना चिकित्सक खटाइएको मन्त्रालयले जनाएको छ ।
अन्य विधामा १९२ जना चिकित्सक परिचालन गरिएको छ ।
विशेषज्ञ चिकित्सकको परिचालनबाट सुरक्षित प्रसूति सेवा, शल्यक्रिया र आकस्मिक उपचारलगायतका स्वास्थ्य सेवा थप सुदृढ हुने मन्त्रालयको अपेक्षा छ ।
यसबाट विशेषज्ञ उपचारका लागि काठमाडौं तथा अन्य ठूला सहर धाउनुपर्ने नागरिकको बाध्यता क्रमशः घट्दै जाने मन्त्रालयले जनाएको छ ।

.gif)

.png)




