त्रिभुवन विश्वविद्यालयको पनि प्रश्नपत्र ‘लिक’


२०८३ श्रावण १० आइतबार १३:१९ बजे

काठमाडौं :  त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटना सार्वजनिक भएको छ। व्यवस्थापन संकायअन्तर्गत मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा चलिरहेकै बेला सामाजिक सञ्जालमार्फत बाहिरिएको पाइएको हो।

परीक्षा सुरु भएको करिब पाँच मिनेटमै ‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र पठाइएको खुलेको छ। परीक्षा सुरु भएको केही समयमै प्रश्नपत्र बाहिरिएको भन्दै फेसबुक पेज ‘टीयू स्टुडेन्ट्स’ ले त्रिविको ध्यानाकर्षण गराएको थियो।

उक्त पेजले प्रश्नपत्र पठाइएको ह्वाट्सएप ग्रुपका स्क्रिनसटसमेत सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएको स्क्रिनसटमा एक व्यक्तिले प्रश्नपत्र पठाएको र त्यसपछि अर्का सदस्यले ‘सर, सोलुसन पनि पठाइदिनु न’ भन्दै प्रतिक्रिया दिएको देखिएको छ।

‘प्राप्त जानकारीअनुसार परीक्षा मध्याह्न १२ बजे सुरू भएको थियो। तर, करिब १२:०५ बजेतिर नै परीक्षा प्रश्नपत्रहरू विभिन्न ह्वाट्सएप समूहमा साझा भएको दाबी गरिएको छ। यस घटनाले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको परीक्षार्थी तथा सरोकारवालाहरूको भनाइ छ,’ उक्त पेजमा उल्लेख छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ गरिएको विषयमा प्रहरीले औपचारिक रूपमा जानकारी सार्वजनिक नगरे पनि शिक्षा मन्त्रालय स्रोतले दुईजनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ।

प्रहरी उच्च स्रोतका अनुसार प्रश्नपत्र ‘लिक’ गर्ने कार्यमा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान तीव्र पारिएको छ। अनुसन्धानका क्रममा केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको स्रोतको भनाइ छ।

प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षामन्त्री सस्मित पोखरेल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच समेत छलफल भएको बताइएको छ। त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालयले सञ्चालन गरेको एमबीएस प्रथम सत्रको परीक्षा यही साउन ८ गते भएको थियो। परीक्षा चलिरहेकै समयमा प्रश्नपत्र सामाजिक सञ्जाल तथा ह्वाट्सएप समूहमा सार्वजनिक भएको खुलेको हो।

‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र पठाइएको पाइएको छ। परीक्षा सुरु भएको केही समयमै प्रश्नपत्र बाहिरिएको भन्दै फेसबुक पेज ‘टीयू स्टुडेन्ट्स’ले समेत त्रिविको ध्यानाकर्षण गराएको थियो।

घटनापछि त्रिविले आन्तरिक छानबिन थालेको छ भने प्रश्नपत्र कसरी बाहिरियो र त्यसमा को–को संलग्न छन् भन्ने विषयमा प्रहरी अनुसन्धान जारी रहेको छ। 

प्रश्न पत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डीनको कार्यालयले साइबर ब्युरोलाई पत्राचार गरेको थियो। शनिबार नै सहायक डीन डा. भरत राईले साइबर ब्युरोलाई आधिकारिक रूपमा पत्राचार गरेका हुन्। पत्राचारमा यसरी सार्वजनिक भएको विषयमा आफूहरूको ध्यानाकर्षण भएको र खोजी गरिदिनका लागि अनुरोध गरेको थियो। ‘एमबिएस प्रथम सेमेष्टरको अर्गनाइजेशनल बिहेबियर विषय परीक्षाको प्रश्नपत्रको सम्बन्धमा विभिन्न ह्वाट्सएप समूहहरूमा साझा गरिएकोसम्बन्धी आएकाले, यस व्यवस्थापन संकाय डीनको कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्राचारमा लेखिएको छ, ‘सुलभ सर (९८१२...) लगायत केही व्यक्तिहरूको नाम र फोन नम्बर पनि स्क्रिनसटमा देखिन्छ। यस सम्बन्धमा अवश्यक व्यक्ति संस्था/परीक्षा केन्द्रको पहिचान गरी हदै सम्मको कानूनी कारबाही गरी सहयोग गरीदिनु हुन अनुरोध गर्दछु।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७