इनाम सापकोटाको आयोगमा उजुरी : आँखामा पट्टी बाँधेर यातना दिइयो, झुटा प्रमाण बनाउन खोजियो

इनामको दाबी : बयानका लागि दबाब, अस्वीकार गर्दा यातना


२०८३ मङ्सिर ११ शुक्रबार १८:३३ बजे

ललितपुर :  आफूलाई गैरन्यायिक रूपमा हिरासतमा राखेर मानसिक यातना दिइएको तथा झुटा प्रमाण सिर्जना गरी फसाउन खोजिएको भन्दै इनाम सापकोटाको तर्फबाट उनकी पत्नी कविता पाण्डेले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएकी छन् ।

चार पृष्ठ लामो उजुरीमा सापकोटाले आफ्नो जीवन रक्षाको माग गर्दै आफूलाई हिरासतमा राख्ने क्रममा मानवअधिकार उल्लंघन भएको दाबी गरेका छन् । उजुरीअनुसार सापकोटालाई गत असोज १४ गते भारतको नयाँदिल्ली जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि दुई दिनसम्म आँखामा पट्टी बाँधेर अज्ञात स्थलमा राखिएको र मानसिक यातना दिइएको उनको आरोप छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, नेपाली कांग्रेसका सभापति गगन थापालगायत उच्चपदस्थ व्यक्तिहरूविरुद्ध बयान दिन दबाब दिइएको र जबर्जस्ती बयान रेकर्ड गरिएको सापकोटाको दाबी छ । कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर समेत नक्कली प्रमाण सिर्जना गरी आफूलाई फसाउन खोजिएको आरोप उनले लगाएका छन् ।

आयोगमा १६४४ नम्बरमा दर्ता भएको उजुरी नेपालको संविधानको धारा २४९ तथा राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ को दफा १० बमोजिम पेस गरिएको उल्लेख छ ।

उजुरीमा उल्लेख भएअनुसार अध्ययन तथा व्यावसायिक कामका लागि विदेश आवतजावत गरिरहने सापकोटा असोज १४ गते बिहान करिब १०ः३० बजे नयाँदिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँचस्थलमा पुगेका बेला प्रहरीले उनीसँग भएका दुईवटा मोबाइल फोन खोसेर नियन्त्रणमा लिएको र गाडीमा राखी आँखामा पट्टी बाँधेर अज्ञात स्थलमा पुर्‍याएको उजुरीमा उल्लेख छ ।

असोज १४ देखि १५ गते साँझसम्म आँखामा कालोपट्टी बाँधेरै राखेर सोधपुछ गरिएको सापकोटाको दाबी छ । त्यसक्रममा पूर्वप्रधानन्यायाधीश जबरा, उनका भाइ तथा छोरा, कांग्रेस सभापति गगन थापा, कांग्रेस नेता एवं व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर तथा सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध प्रमाण र बयान दिए छाडिदिने भन्दै प्रलोभन तथा धम्की दिइएको उनले आरोप लगाएका छन् ।

बयान दिन अस्वीकार गरे आफू र परिवारलाई समेत दुःख दिने तथा लामो समय जेल बस्ने गरी झुटा मुद्दा लगाउने धम्की दिइएको उजुरीमा उल्लेख छ । आफूले कुनै गैरकानुनी काम नगरेको र सम्बन्धित व्यक्तिहरूमध्ये केही व्यक्तिगत रूपमा परिचित, केही गुरु–शिक्षक तथा केहीलाई चिन्दै नचिनेको अवस्थामा अरूविरुद्ध झुटो बयान दिन नसक्ने जवाफ दिएको सापकोटाको भनाइ छ ।

त्यसपछि प्रहरीले तयार पारेको कागज आँखाको एकातिरको पट्टी माथि सारेर ठूलो स्वरमा पढ्न लगाएको र पछि त्यही व्यहोराको कागजमा हस्ताक्षर गर्न दबाब दिएको उनले बताएका छन् । आफूले नगरेको र नजानेको विषयमा हस्ताक्षर गर्न अस्वीकार गरेको उनको दाबी छ ।

उजुरीमा भनिएको छ, ‘पक्राउ गरेको दिन प्रहरीले पढ्न लगाएका कुराहरू रेकर्ड गरी काँटछाँट गरेर सार्वजनिक गरिएको रहेछ ।’ नेपाली कांग्रेसको आधिकारिकताको विवाद र सर्वोच्च अदालतका न्यायाधीशहरूको सेटिङसम्बन्धी भनिएका अडियोबारे आफन्त तथा पछि प्रहरीको थप बयानका क्रममा मात्र जानकारी पाएको सापकोटाले उल्लेख गरेका छन् ।

कागजमा हस्ताक्षर गर्न नमानेपछि असोज १५ गते साँझ आँखामा पट्टी र त्यसमाथि चस्मा लगाएर जिल्ला प्रहरी परिसर भद्रकाली ल्याई थुनामा राखिएको तथा खल्तीमा दुईवटा कागज हालिदिएको उनको आरोप छ ।

भोलिपल्ट असोज १६ गते बिहान साढे ८ बजे हतकडी लगाएर दुईवटा सुटकेससहित पानीपोखरीस्थित हाइट होम्स अपार्टमेन्टमा रहेको निवासमा लगिएको र पाँचमहिने छोरी, पत्नी तथा जेठानहरूको उपस्थितिमा घरका सबै कोठामा खानतलासी गरिएको उजुरीमा उल्लेख छ ।

खानतलासीका क्रममा पुरानो ल्यापटप, पुरानो मोबाइल र केही कागजात मात्र फेला परेको तर बाहिर आँगनमा राखिएको सुटकेस भित्र ल्याएर साइड ब्यागबाट विदेशी मुद्रा निकाल्दै घरमै फेला परेको देखाएर मुचुल्का तयार गरिएको सापकोटाको दाबी छ ।

मुचुल्का तयार गर्ने क्रममा पत्नीलाई पहिल्यै खाली कागजमा हस्ताक्षर गराइएको र दुई दिनअघि नै प्रहरीले नियन्त्रणमा लिइसकेको आइफोनसमेत गलत तरिकाले मुचुल्कामा समावेश गर्न खोजिएको आरोप उनले लगाएका छन् ।

असोज १४ गते साँझ विमानस्थलअगाडिको सार्वजनिक सडकमा महिलासहित सर्वसाधारणमाथि अभद्र व्यवहार गरेको आरोपमा आफूविरुद्ध झुटो मुद्दामा म्याद थप गरिएको उनको जिकिर छ । आफू विमानस्थलभित्रैबाट पक्राउ परेको दाबी गर्दै उनले त्यसको पुष्टि गर्न विमानस्थलको सीसीटीभी फुटेज र बोर्डिङ पास जाँच गर्न माग गरेका छन् ।

त्यस्तै, आफूबाट एक हजार ३०० अमेरिकी डलर र केही भारतीय रुपैयाँ बरामद भएको विषयमा नेपाल राष्ट्र बैंकको विदेशी विनिमय कारोबारसम्बन्धी परिपत्र, २०८२ को विषयसूची नम्बर ९ अनुसार कानुनी व्यवस्थाभित्रै रहेर रकम बोकेको भनी कानुन व्यवसायीले बहस गरेपछि थुनामा राख्ने उद्देश्यले सम्पत्ति शुद्धीकरणको मुद्दासमेत थपिएको आरोप उजुरीमा लगाइएको छ ।

प्रहरी नियन्त्रणमा रहेका बेला आफ्नो मोबाइल दुई दिनसम्म अनधिकृत व्यक्तिलाई दिएर छेडखानी गरिएको तथा एआईबाट सिर्जना गरिएका कागजातसमेत प्रमाणका रूपमा प्रस्तुत गर्न खोजिएको जानकारी पाएको सापकोटाले बताएका छन् ।

अनुसन्धानका सामग्री चुहाएर आरोप प्रमाणित नहुँदै आफूलाई ‘देशकै सबैभन्दा ठूलो बिचौलिया’ र ‘फिक्सर’ जस्ता उपनाम दिएर मिडिया ट्रायलमार्फत बदनाम गरिएको तथा पत्नीमाथि समेत लाञ्छना लगाइएको उनको दाबी छ ।

यसबाट नेपालको संविधानको धारा २० ले सुनिश्चित गरेको न्यायसम्बन्धी हकअन्तर्गत निर्दोषिताको अनुमान र स्वच्छ सुनुवाइको अधिकार तथा धारा २८ ले सुनिश्चित गरेको गोपनीयताको हक कुण्ठित भएको उजुरीमा जिकिर गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७