दुई चालकको लाइसेन्स ६ महिनाका लागि निलम्बन
भक्तपुर : यातायात व्यवस्था कार्यालय, राधेराधे भक्तपुरले दुई जना चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ६ महिनाका लागि निलम्बन गरेको छ ।
बागमती प्रदेश सरकारअन्तर्गतको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय मातहत रहेको कार्यालयले मंसिर ३ गतेदेखि लागू हुने गरी उनीहरूको लाइसेन्स निलम्बन गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट २०८३ कात्तिक २० गते प्राप्त पत्रका आधारमा कारबाही अघि बढाइएको कार्यालयले जनाएको छ ।
कार्यालयको सूचनाअनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को परिच्छेद ४ को दफा ६० बमोजिम निर्णय गरी नुवाकोटको बेलकोटगढी नगरपालिका–५ निवासी दिनेश परियार र काभ्रेपलाञ्चोकको खनालथोक–१ निवासी राजन लामाको लाइसेन्स निलम्बन गरिएको हो ।
यातायात व्यवस्था कार्यालय, राधेराधेका प्रमुख प्रविण श्रेष्ठले ट्राफिक प्रहरी कार्यालयबाट नियम उल्लङ्घन गरेको भन्दै कारबाहीका लागि पत्र आएपछि दुई चालकको लाइसेन्स निलम्बन गरिएको बताए ।
उनका अनुसार लाइसेन्स निलम्बनसम्बन्धी जानकारी दिन पटक–पटक सम्पर्क गर्न खोज्दा पनि चालकहरूसँग सम्पर्क हुन नसकेपछि सार्वजनिक सूचना जारी गरिएको हो ।
‘लाइसेन्स निलम्बन भएपछि पनि सवारी चलाइरहेमा लाइसेन्स नभएको अवस्थासरह कारबाही हुन्छ,’ श्रेष्ठले भने ।
लाइसेन्स निलम्बन गरिएको जानकारी गराउन कार्यालयले पहिलो पटक यसरी सार्वजनिक सूचना जारी गरेको पनि उनले बताए ।
.gif)

.png)




