प्रहरी भएको दाबी गर्दै डान्स बार सञ्चालकलाई धम्की दिने दुई जना पक्राउ
काठमाडौं : काठमाडौं महानगरपालिका–२६ ज्याठास्थित गोल्डेन आई डान्स बारका सञ्चालक र कर्मचारीलाई आफूहरू सादा पोसाकका प्रहरी भएको दाबी गर्दै धम्की दिएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–८ घर भई भक्तपुरमा बस्दै आएका २२ वर्षीय नवराज कुँवर र १८ वर्षीय सुमन तामाङ छन् ।
उनीहरू मंसिर ४ गते मध्यरातपछि करिब साढे १२ बजे डान्स बारभित्र प्रवेश गरेको प्रहरीले जनाएको छ । बारका सञ्चालक तथा कर्मचारीसँग विवाद गर्दै धम्की दिएको आरोपमा प्रहरी वृत्त दरबारमार्गको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तीन दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ ।
.gif)

.png)




