गृहले निलम्बन गर्यो एनप्याब्सन
काठमाडौं : सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को व्यवस्थाअनुसार एनप्याब्सनलाई निलम्बन गरिएको जनाएको हो ।
मन्त्रालयका अनुसार ऐनको दफा ५ बमोजिम दिइएको निर्देशन पालना नगरेपछि दफा ६ को उपदफा (२) अनुसार यस्तो निर्णय गरिएको हो ।
गृह मन्त्रालयले एनप्याब्सनलाई यसअघि पटकपटक निर्देशन दिएको थियो । तर, ती निर्देशन कार्यान्वयन नगरेको मन्त्रालयको भनाइ छ ।
त्यसैगरी संगठनका पदाधिकारीले सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको पनि मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।
निलम्बनसँगै एनप्याब्सनका नाममा कुनै पनि गतिविधि नगर्न गृह मन्त्रालयले चेतावनी दिएको छ ।
निलम्बनको अवधिमा संगठनका नाममा गतिविधि सञ्चालन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयको अर्को निर्णय नभएसम्म एनप्याब्सनले संगठनका रूपमा गतिविधि सञ्चालन गर्न पाउने छैन । तर, मन्त्रालयले कुन–कुन निर्देशन उल्लंघन भएको हो र विधानविपरीतका भनिएका गतिविधि के हुन् भन्ने विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।
हेर्नूहोस् सूचनाः

.gif)

.png)




