५४ हजारभन्दा बढी प्रहरीका गुनासा सुन्न डेस्क स्थापना


२०८३ मङ्सिर ४ शुक्रबार १७:३४ बजे

काठमाडौं : नेपाल प्रहरीले तल्लो तहका कर्मचारीका गुनासा र पीरमर्का सम्बोधन गर्न केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना गरेको छ । 

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच उक्त डेस्कको उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा नेपाल प्रहरीको सीयूजी सेवामा आबद्ध प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ जना कर्मचारीको मोबाइलमा एकैपटक गुनासो दर्ताका लागि गुगल फारमको लिङ्क पठाइएको थियो ।

सोही क्रममा महानिरीक्षक केसीले एक जना प्रहरी कर्मचारीको टेलिफोनमार्फत गुनासोसमेत सुनेर डेस्कको औपचारिक शुभारम्भ गरेका थिए ।

प्रहरी संगठनको कुल जनशक्तिमध्ये ८२ प्रतिशतभन्दा बढी आधारभूत तहका कर्मचारी रहेको तथ्यलाई ध्यानमा राख्दै उनीहरूका समस्या, कठिनाइ, विभेद तथा गुनासोको छिटो र प्रभावकारी सम्बोधन गर्ने उद्देश्यले डेस्क स्थापना गरिएको प्रहरीले जनाएको छ ।

उद्घाटन कार्यक्रममा महानिरीक्षक केसीले आधारभूत तहका प्रहरी कर्मचारीका गुनासा विभिन्न तह पार गरेर नेतृत्वसम्म पुग्न कठिन हुने अवस्थालाई ध्यानमा राखेर सिधै गुनासो राख्न सक्ने व्यवस्था गरिएको बताए ।

आधारभूत तहका कर्मचारी संगठनको जग र जनताले प्रत्यक्ष रूपमा देख्ने प्रहरी सेवाको मुख्य अनुहार भएको उल्लेख गर्दै उनीहरू सन्तुष्ट नभएसम्म प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न कठिन हुने उनको भनाइ थियो ।

उनले गुनासोको प्रभावकारी सम्बोधन समग्र प्रहरी कार्यसम्पादनसँग जोडिएको बताउँदै डेस्कलाई नेतृत्व र आधारभूत तहका कर्मचारीबीच विश्वासको सेतुका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

गुनासोकर्ताको गोपनीयतालाई प्राथमिकतामा राखेर प्रत्येक गुनासो गम्भीरतापूर्वक सम्बोधन गर्न उनले डेस्कमा खटिएका कर्मचारीलाई निर्देशनसमेत दिए ।

प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी स्थापना गरिएको डेस्कले कर्मचारीका गुनासा सहज, पहुँचयोग्य, गोप्य र निष्पक्ष रूपमा दर्ता तथा सम्बोधन गर्नेछ ।

प्राप्त गुनासाको प्रमाणमा आधारित छानबिन र शीघ्र समाधान गर्नुका साथै संगठनभित्र दोहोरिने समस्या तथा प्रणालीगत कमजोरी पहिचान गरी नीतिगत, प्रशासनिक र कल्याणकारी सुधारका उपाय अघि बढाउनु पनि यसको उद्देश्य रहेको प्रहरीले जनाएको छ ।

कार्यक्रममा केन्द्रीय गुनासो व्यवस्थापन डेस्कका संयोजक प्रहरी उपरीक्षक गोविन्द पुरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।

सातै प्रदेशका प्रहरी कार्यालय, तालिम केन्द्र, शिक्षालय, जिल्ला प्रहरी कार्यालय तथा अन्य विभिन्न प्रहरी इकाइका प्रमुख र प्रतिनिधि भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७