एन्फाको निलम्बन फुकुवाका लागि पहल भइरहेको छ : मन्त्री पोखरेल
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गरेको निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्थाअनुसार विधान संशोधन गरी तहगत निर्वाचन गर्न नेपाल खेलकुद परिषद्ले एन्फालाई निर्देशन दिएको बताए।
परिषद्को निर्देशन पालना नगरी एन्फाले साधारणसभा तथा निर्वाचन प्रक्रिया अघि बढाएपछि पटक–पटक सचेत गराइएको र कार्यसमितिको चैत १२ गतेको निर्णयअनुसार एन्फालाई निलम्बन गरिएको उनको भनाइ छ। मन्त्री पोखरेलका अनुसार नेपाल खेलकुद परिषद्को निर्देशनलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा व्याख्या गर्दै फिफाले एन्फालाई निलम्बन गरेको हो। निलम्बनपछि नेपालमा कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन हुन नसकेको उनले सदनलाई जानकारी दिए।
मन्त्री पोखरेलले सामुदायिक शिक्षामा सुधारका लागि सरकार प्रतिबद्ध रहेको पनि बताए। विद्यालय शिक्षाका समस्या समाधान गर्न सरोकारवालाहरूको सुझावसमेत समेटेर शिक्षा ऐन जारी गर्ने सरकारको तयारी रहेको उनले बताए। शिक्षक अभाव र दरबन्दी मिलानको समस्या समाधानका विषयमा समेत सरकार गम्भीर रहेको मन्त्री पोखरेलले उल्लेख गरे।
.gif)

.png)

