नयाँ प्रणालीबाट लाइसेन्स छाप्न सुरु


२०८३ असोज ४ आइतबार १३:१७ बजे
फाइल फोटो

काठमाडौँ : सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइको समस्या समाधान गर्ने उद्देश्यले नयाँ प्रणालीमार्फत छपाइ सुरु गरेको हो।

नयाँ प्रणालीअन्तर्गत नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने सेवाग्राहीको विवरण ईडीएलभिआरएसमा अपलोड भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने व्यवस्था गरिएको छ। सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरेपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउनेछ। यस प्रक्रियाले लाइसेन्स छपाइ तथा वितरणमा विगतदेखि देखिँदै आएको ढिलाइ र व्यवस्थापनसम्बन्धी समस्या कम हुने विभागको अपेक्षा छ।

पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ। व्यवस्थाअनुसार सम्बन्धित प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा सवारी चालक अनुमतिपत्र छपाइ गर्न सक्नेछ। सोहीअनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ।

त्यसैगरी, लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी लाइसेन्स छपाइ सुरु गरेको छ। प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइ गर्ने व्यवस्था मिलाइएको छ।

नयाँ प्रणाली कार्यान्वयनसँगै प्रदेशअनुसार लाइसेन्स छपाइको जिम्मेवारी व्यवस्थापन गर्दै सेवाग्राहीलाई सहज, छिटो र समयमै सवारी चालक अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको विभागले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७