प्राधिकरणद्वारा स्पेस लिंक नेटवर्कको दूरसञ्चार लाइसेन्स खारेज
बाँकी रकम बुझाउन ३० दिनको समय
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले बालुवाटारस्थित स्पेस लिंक प्रालिको नेटवर्क सेवा प्रदायक अनुमतिपत्र स्वतः रद्द भएको जनाएको छ। तोकिएको समयभित्र अनुमतिपत्र नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेपछि प्राधिकरणले कम्पनीको अनुमतिपत्र रद्द भएको जानकारी दिएको हो।
प्राधिकरणका अनुसार स्पेस लिंकले २०७८ साउन १७ गते मि.ज. ६–३० नम्बरको अनुमतिपत्र प्राप्त गरेको थियो। तर अनुमतिपत्र नवीकरणको प्रक्रिया पूरा नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम साउन १७ गतेदेखि नै लागू हुने गरी अनुमतिपत्र स्वतः रद्द भएको हो। अनुमतिपत्र रद्द भएपछि कम्पनीले प्राधिकरणलाई नियमानुसार तिर्न तथा बुझाउन बाँकी रहेको रकमका सम्बन्धमा समेत प्राधिकरणले ताकेता गरेको छ।
प्राधिकरणले बाँकी रकम तथा अन्य दायित्वका विषयमा सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्न कम्पनीलाई निर्देशन दिएको छ। तोकिएको अवधिभित्र सम्पर्क नगरेमा प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने प्राधिकरणले स्पष्ट पारेको छ।
.gif)

.png)

