महेश श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट दर्ता गर्न सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले महेश श्रेष्ठको थुनासम्बन्धी बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरी इजलासमा पेस गर्न आदेश दिएको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता गर्न अस्वीकार गर्दै गरेको दरपीठ आदेश बदर गरेको हो ।
यशोदा श्रेष्ठले आफ्ना पति महेशलाई सरकारले गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् । तर, अदालत प्रशासनले सम्बन्धित मुद्दा हेर्ने अदालतबाट पक्राउ अनुमोदन भइसकेको र म्यादसमेत थप भएको आधार देखाउँदै निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो ।
उक्त दरपीठ आदेशविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश निरौलाको इजलासले दरपीठ बदर गरेको हो ।
आदेशमा भनिएको छ, ‘यस रिट निवेदनमा उठाइएको विषयवस्तु हेर्दा, मिसिल कागजात हेरी इजलासबाटै निरुपण हुन उपयुक्त देखिएकाले बन्दीप्रत्यक्षीकरणको दर्ता गर्न ल्याएको रिट निवेदन दरपीठ गरेको आदेश बेरिताको देखिँदा बदर गरिदिएको छ ।’
राज्यका महत्वपूर्ण निकायका पदाधिकारीहरूको नाम दुरुपयोग गरी आपराधिक लाभका गतिविधि गरेको आरोपमा झापाका इनम सापकोटा पक्राउ परेका थिए । उनीसँग कारोबार देखिएको आरोपमा प्रहरीले महेश श्रेष्ठलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
सर्वोच्चको आदेशसँगै श्रेष्ठको थुनाविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको रिट अब इजलासमा प्रवेश गर्ने भएको छ ।
.gif)

.png)




