न्यायाधीश रणबहादुर बमको हत्या गर्ने बाबु थापा १३ महिनापछि पक्राउ

दुई पेस्तोल र १५ राउन्ड गोली बरामद


२०८३ असोज २९ बिहीबार १५:०७ बजे

काठमाडौं : सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका बाबु थापा भनिने मेघबहादुर थापा सर्लाहीबाट पक्राउ परेका छन्। 

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका उनलाई प्रहरीले बागमती नगरपालिका–१ स्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो।

थापाको साथबाट दुई थान पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद भएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए। बरामद गरिएको पेस्तोलमध्ये एउटामा ‘मेड इन युएसए’ लेखिएको छ भने अर्को पेस्तोलको विवरण खुलेको छैन।

थापा गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका थिए। त्यसपछि उनी नेपाल र भारतका विभिन्न स्थानमा भेष बदलेर लुकेर बस्दै आएको प्रहरीको भनाइ छ।

उनी घर फर्किन सक्ने आशंकामा प्रहरीले निगरानी बढाएको थियो। थापा घर आएको सूचना पाएपछि पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको एसपी पौडेलले बताएका छन्।

न्यायाधीश बमको हत्यामा दोषी ठहर

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको २०६९ जेठ १८ गते ललितपुरस्थित युएन पार्क क्षेत्रमा गोली हानी हत्या गरिएको थियो। 

घटनाको अनुसन्धानका क्रममा बाबु थापाको संलग्नता खुलेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई २०७१ पुसमा चितवनबाट पक्राउ गरेको थियो।

न्यायाधीश बमको हत्याको पृष्ठभूमि तत्कालीन चुरेभावर राष्ट्रिय पार्टीभित्रको नेतृत्व विवादसँग जोडिएको थियो। सर्लाहीको उत्तरी क्षेत्रलाई आधार बनाएर २०६३ सालमा गठन भएको उक्त पार्टीको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा थापा धनुषा क्षेत्र नम्बर ७ बाट उम्मेदवार बनेका थिए। निर्वाचनपछि समानुपातिकतर्फबाट केशव मैनाली संविधानसभा सदस्य बनेपछि पार्टीभित्र विवाद चर्किएको थियो।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगमा पुगेपछि आयोगले मैनालीको सट्टा बाबु थापा नेतृत्वको समूहलाई वैधानिकता दिएको थियो। त्यस निर्णयविरुद्ध मैनालीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामा न्यायाधीश बमको एकल इजलासले थापा नेतृत्वको समूहलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। यही विवादलाई हत्याको पृष्ठभूमिसँग जोडेर प्रहरीले अनुसन्धान अघि बढाएको विवरण सार्वजनिक भएको थियो।

थापा तत्कालीन चुरेभावर राष्ट्रिय पार्टीका केन्द्रीय उपाध्यक्षसमेत भएका थिए।

कारागारबाट फरार भएपछि खोजी

न्यायाधीश हत्यामा दोषी ठहर भई कैद सजाय भोगिरहेका थापा जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो। नेपाल र भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएको भनिएका उनी अन्ततः आफ्नै घरबाट पक्राउ परेका हुन्।

उनको साथबाट हतियार र गोलीसमेत बरामद भएपछि प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। बरामद हतियारको प्रकृति, त्यसको स्रोत र प्रयोगको सम्भावित उद्देश्यबारे अनुसन्धानबाट थप विवरण खुल्ने अपेक्षा गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७