मन्दिरका ३५ घण्टी भाँडा पसलमा भेटिए, तीन जना पक्राउ
रुपन्देही : कपिलवस्तुमा मन्दिरबाट घण्टी चोरी गरी बिक्री गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले एक भाँडा पसलबाट साना–ठूला गरी ३५ थान पित्तलका घण्टीसमेत बरामद गरेको हो।
शुद्धोधन गाउँपालिका–२ नौडिहवास्थित दुर्गा मन्दिरबाट गत असोज २६ गते राति तीन वटा घण्टी चोरी भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए
घटनाबारे असोज २७ गते अपराह्न प्रहरी चौकी लवनीमा जानकारी आएपछि प्रहरी वरिष्ठ नायब निरीक्षक राजीव श्रेष्ठको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनामा संलग्न रहेको आरोपमा शुद्धोधन गाउँपालिका–१ बगदीका १८ वर्षीय इबरार अहमद मुसलमान (खान)लाई स्थानीयले नियन्त्रणमा लिएर राखेका थिए।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पकडी पठाएको थियो। अनुसन्धानका क्रममा चोरीमा संलग्न रहेको आरोपमा शुद्धोधन गाउँपालिका–२ भुसुडीका २५ वर्षीय चन्द्रप्रसाद यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इबरारसँग सोधपुछ गर्ने क्रममा चोरी गरिएका घण्टी शुद्धोधन गाउँपालिका–३ लवनीस्थित ऋषि भाँडा पसलमा बिक्री गरेको खुलेको प्रहरीको भनाइ छ। त्यसपछि प्रहरीले उक्त पसलमा अनुसन्धान गर्दा साना–ठूला गरी ३५ थान पित्तलका घण्टी बरामद गरेको हो।
प्रहरीले पसल सञ्चालक दिनेशकुमार कान्दुलाई पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पठाएको जनाएको छ।
घटनामा संलग्न रहेको आशंका गरिएका अर्का एक जना भने फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
.gif)

.png)



