१३० किलो गाँजा बरामद मुद्दामा रास्वपा नगर सभापति पक्राउ


२०८३ असोज २८ बुधबार १६:३५ बजे

सप्तरी : सवारी दुर्घटनापछि कारबाट १ क्विन्टल ३० किलो गाँजा बरामद भएको घटनासम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सप्तरीस्थित सुरूङ्गा नगर सभापति साविर हुसेन पक्राउ परेका छन्।

लागूऔषध मुद्दामा फरार रहेका हुसेनलाई इलाका प्रहरी कार्यालय लहानको टोलीले सुरूङ्गा नगरपालिका–४ कदमाहा बजारस्थित रास्वपाको पार्टी कार्यालयबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले उनको पक्राउ पुष्टि गरेका छन्। प्रहरीका अनुसार घटनाको सुरुवात २०८१ मंसिर २९ गते भएको सवारी दुर्घटनाबाट भएको थियो।

सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र कार एकआपसमा ठोक्किएका थिए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतर्फबाट राजमार्ग पार गर्दै गरेको बा.८ च ९९६३ नम्बरको कारलाई ठक्कर दिएको थियो। दुर्घटनापछि कारमा खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको १३० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले कार, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको थियो। तर, कारका चालक फरार भएका थिए। सोही घटनासम्बन्धी लागूऔषध मुद्दामा हुसेन फरार रहेको प्रहरीको भनाइ छ।

लामो समयदेखि फरार रहेका हुसेनलाई पार्टी कार्यालयबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७