कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय
६६ जना मनोनीत हुने
काठमाडौँ : नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा बसेको बन्दसत्रले महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान पारित गरेको हो।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। विधानमा एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री रहने व्यवस्था गरिएको छ। चार उपसभापतिमध्ये कम्तीमा एक जना महिला तथा तीन महामन्त्रीमध्ये एक जना महिला अनिवार्य गरिएको छ। कोषाध्यक्ष भने केन्द्रीय सदस्यमध्येबाट एक जना मनोनीत हुनेछन्।
केन्द्रीय सदस्यतर्फ खुलाबाट ४५, महिलाबाट १५ तथा सातै प्रदेशबाट एक महिलासहित चार–चार जना गरी २८ जना रहने व्यवस्था गरिएको छ। काठमाडौँ उपत्यकाबाट एक महिलासहित दुई जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
समावेशीतर्फ दलितबाट पाँच महिलासहित १४, आदिवासी जनजातिबाट आठ महिलासहित २०, खस आर्यबाट आठ महिलासहित १८ र मधेसीबाट पाँच महिलासहित १३ जना रहनेछन्।
त्यस्तै, जनसम्पर्क समितिबाट दुई महिलासहित सात, पिछडिएको वर्गबाट तीन, थारूबाट दुई महिलासहित छ, श्रमिकबाट एक महिलासहित तीन र पेसागत विज्ञबाट दुई महिलासहित सात जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।
सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा, अपाङ्गता भएका व्यक्तिबाट एक तथा प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहनेछन्। यसबाहेक केन्द्रीय कार्यसमितिले ६६ जना सदस्य मनोनीत गर्ने व्यवस्था विधानमा गरिएको छ।
विधान सोमबार नै पारित गरिए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबारको बन्दसत्रबाट पारित गरिने कांग्रेसले जनाएको छ। मंगलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन हुने भएकाले विधान सोमबार नै पारित गरिएको पार्टीको भनाइ छ।
.gif)

.png)


