ग्यास–पेट्रोलियम आपूर्ति नेपालको नियन्त्रणबाहिर : उद्योगमन्त्री साह
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिरको विषय रहेको बताएका छन्।
संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा मन्त्री साहले अन्तर्राष्ट्रिय भू–राजनीतिक द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भइरहेकाले नेपालले ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति लिनुपर्ने बताए।
युक्रेन–रुस तथा इरान–अमेरिका द्वन्द्वका कारण विश्व बजारमा इन्धनको मूल्य र आपूर्तिमा अस्थिरता आएको भन्दै उनले परम्परागत इन्धनको विकल्प खोज्ने बेला आएको बताए। बाह्य निर्भरता घटाउन स्वदेशमै वैकल्पिक ऊर्जा र खाना पकाउने प्रविधिको विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो।
उनले ब्रिकेट, विद्युत्लगायत स्वदेशी ऊर्जाको प्रयोग बढाउनुपर्ने बताए। ‘ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिमा आउने अवरोध हाम्रो नियन्त्रणमा हुँदैन,’ उनले भने, ‘त्यसैले बाह्य निर्भरतामात्र बढाउनेभन्दा स्वदेशमै वैकल्पिक ऊर्जा र खाना पकाउने प्रविधिको विकासमा जोड दिनुपर्छ।’
मन्त्री साहले ऊर्जा आत्मनिर्भरतासँगै कृषिमा पनि स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए। आयातित चामलमा निर्भर हुनुभन्दा मकै, फापर, कोदो र सिमीलगायत स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो।
पहाडी क्षेत्रमा हुने रैथाने बालीको प्रवर्द्धन गर्न आवश्यक रहेको बताउँदै मन्त्री साहले जनतालाई समस्या मात्र होइन, स्वदेशमै उपलब्ध विकल्प र सम्भावनाबारे जानकारी गराएर आत्मनिर्भरताको भाष्य निर्माण गर्नुपर्ने बताए।
उनले स्वदेशी ऊर्जा र कृषि उत्पादनको प्रयोग बढाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताए। सांसदहरूले उठाएका ग्यास आपूर्तिसम्बन्धी प्रश्नमा पनि मन्त्री साहले भू–राजनीतिक परिस्थितिका कारण बाह्य वस्तुमाथिको निर्भरता घटाउनुपर्ने आफ्नो अडान दोहोर्याए।
.gif)

.png)


