अर्थ मन्त्रालयका दुई सहसचिवले दिए राजीनामा


२०८३ असोज १९ सोमबार १७:४४ बजे
सहसचिवद्वय राजेन्द्रदेव पाण्डे र पदमकुमार श्रेष्ठ

काठमाडौं : अर्थ मन्त्रालयअन्तर्गत कार्यरत दुई सहसचिवले राजीनामा दिएका छन्। सहसचिवद्वय राजेन्द्रदेव पाण्डे र पदमकुमार श्रेष्ठले मंगलबार राजीनामा बुझाएको मन्त्रालय स्रोतले जनाएको छ। 

दुवैजना चालू आर्थिक वर्षभित्रै ५८ वर्ष पूरा गरी अनिवार्य अवकाशमा जाने सूचीमा थिए।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख पाण्डे आगामी फागुन १० गते ५८ वर्ष पूरा गर्दै थिए। त्यस्तै, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक श्रेष्ठ जेठ १४ गते अनिवार्य अवकाशमा जाने तयारीमा थिए। 

पाण्डे यसअघि नेपाल ट्रष्टको कार्यालयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा पुगेका थिए। 

गोपीकृष्ण कोइरालाले राजीनामा दिएपछि उनी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुख बनेका थिए। छोटो समयमै उनले पनि राजीनामा दिएका हुन्।

श्रेष्ठले भने अनिवार्य अवकाश आउन करिब आठ–नौ महिना बाँकी छँदै राजीनामा दिएका छन्।

अर्थ मन्त्रालयअन्तर्गतका उच्च तहका कर्मचारीले राजीनामा दिएको यो पछिल्लो घटना हो। यसअघि ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक केदारनाथ शर्माले पनि जागिरबाट राजीनामा दिएका थिए।

पछिल्लो समय निजामती सेवामा चर्चामा रहेको ‘३०–५५’ सम्बन्धी विषयका कारण समेत कर्मचारीहरूले सेवाबाट बाहिरिने निर्णय गरेको स्रोतको दाबी छ। यद्यपि पाण्डे र श्रेष्ठको राजीनामाको औपचारिक कारण भने सार्वजनिक भएको छैन।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७