सशस्त्रका एआईजी वंशीराज दाहाल निलम्बित
संवेदनशील सूचना चुहाएको आरोप
काठमाडौं : सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहाएको आरोपमा गृह मन्त्रालयले सोमबार उनलाई निलम्बन गरेको हो।
सशस्त्र प्रहरी बल, नेपालले कारबाहीका लागि गरेको सिफारिशका आधारमा गृह मन्त्रालयले दाहाललाई निलम्बन गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन्। दाहालमाथि लागेको आरोपबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। समितिलाई तीन दिनभित्र जाँचबुझ पूरा गरी प्रतिवेदन मन्त्रालयमा पेश गर्न भनिएको छ।
गृह मन्त्रालयका अनुसार हरेक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पदअनुसारको आचरण पालना गर्नुका साथै सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण र गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था छ। दाहालले संवेदनशील सुरक्षा सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरीबाट कारबाहीका लागि सिफारिश आएको मन्त्रालयले जनाएको छ।
गृहले भनेको छ, ‘हरेक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पद अनुसारको आचारण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण तथा गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेकोमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचारण विपरीतको कार्य गरेको भनी सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीको लागि मन्त्रालयमा सिपाmरिश प्राप्त भएकोमा उक्त अभियोग उपर जाँचबुझ गर्न यस मन्त्रालयको मिति २०८३/६/१९ गतेको निर्णयानुसार निजलाई निलम्बन गरी तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृत तोकिएको बेहोरो सम्बन्धित सबैमा जानकारी गराइन्छ।’
गृह मन्त्रालयले मातहतका कर्मचारीलाई पदीय आचरणविपरीतका गतिविधि नगर्नसमेत सचेत गराएको छ। संवेदनशील तथा गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि मन्त्रालयले सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको जनाएको छ। कानुनविपरीतका गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत गृह मन्त्रालयले दिएको छ।
.gif)

.png)


