हजार दिनमा सुकुम्वासी समस्या समाधान गर्छौँ : प्रधानमन्त्री


२०८३ असोज १९ सोमबार १८:२३ बजे

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले एक हजार दिनभित्र भूमिहीन सुकुम्वासीको समस्या समाधान गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। प्रधानमन्त्री शाहले हालसम्म ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको बताए। 

सामाजिक सञ्जालमार्फत भूमि समस्या समाधानबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले लालपुर्जा नभएका स्ववासी, भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी परिवारलाई प्रमाण पुर्जा वितरण गरिएको बताए। 

यसलाई सुरुवातका रूपमा उल्लेख गर्दै उनले अब देशभर वितरणको काम तीव्र बनाइने बताएका छन्। भूमि समस्या समाधान समिति गठन भएपछि देशभरका तथ्यांक एकीकृत रूपमा संकलन तथा प्रशोधन भइरहेको उनको भनाइ छ। 

हालसम्म प्रणालीमा १३ लाख ११ हजार १९७ निवेदन प्रविष्ट भएका छन्। ती निवेदनको अध्ययन, प्रमाणीकरण र प्राथमिकता निर्धारणको काम अघि बढेको उनले बताएका छन्।

सार्वजनिक महत्त्वका क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसेका भूमिहीन सुकुम्वासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया पनि अघि बढाइएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्। 

काठमाडौं उपत्यकाबाट विस्थापित परिवारका लागि उनीहरूको स्थायी वतन भएको जिल्लामै भूमि व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

झुटो विवरण दिएर आफूलाई भूमिहीन देखाउनेहरूको अभिलेख भिडान गरी कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको पनि उनले बताए।

प्रधानमन्त्री शाहले विगतमा गठन भएका भूमि समस्या समाधानसम्बन्धी आयोग तथा संरचनामाथि समेत प्रश्न उठाएका छन्। २०७७ सालदेखि गत वर्षसम्म त्यस्ता संरचनामा राज्यको दुई अर्ब रुपैयाँभन्दा बढी खर्च भए पनि अपेक्षित परिणाम आउन नसकेको समेत उनले बताए।

भूमिसम्बन्धी ऐन, वन ऐनलगायत कानुनमा आवश्यक सुधार गर्दै कानुनी तथा प्रक्रियागत अवरोध हटाएर समस्या समाधानको प्रक्रिया अघि बढाइने प्रधानमन्त्री शाहले बताए।

जिल्लागत रूपमा समस्या समाधान गर्दै क्रमशः सुकुम्वासी समस्यामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य सरकारको रहेको उनको भनाइ छ।

रास्वपा सरकारको चुनावी वाचाअनुसार एक हजार दिनभित्र भूमिहीन सुकुम्वासीको समस्या समाधान गर्ने लक्ष्यलाई कार्यसम्पादनको स्पष्ट आधार बनाइएको प्रधानमन्त्री शाहले बताएका छन्।

“सात दशकसम्म आश्वासन पाएका नागरिकले अब लालपुर्जा पाउनुहुन्छ,” उनले भनेका छन्।

हेर्नूहोस् प्रधानमन्त्री वालेन्द्रको पोष्टः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७