चोलेन्द्रलाई भेट्न मानव अधिकार आयोगको टोली टेकुमा, गेटमै रोकियो
काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको छ।
आयोगको टोली जबरालाई भेट्न कार्यालय पुगे पनि सुरक्षाकर्मीले करिब आधा घण्टादेखि गेटमै रोकेका छन्। जबरालाई प्रहरीले गएराति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकु पुर्याएको थियो।
उनलाई कुन कसुरमा र कुन कानुनी आधारमा नियन्त्रणमा लिइएको हो भन्नेबारे प्रहरीले औपचारिक रूपमा स्पष्ट पारेको छैन। अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले भने जबरालाई ‘सुरक्षा थ्रेट’ रहेको सूचना पाएपछि सुरक्षाका लागि कार्यालयमा ल्याइएको बताएका छन्।
पूर्वप्रधानन्यायाधीशसमेत भइसकेका जबरालाई मध्यराति निवासबाट प्रहरी कार्यालय ल्याउने क्रममा अपनाइएको शैली र कानुनी प्रक्रियामाथि प्रश्न उठेको छ। विशेषगरी, सुरक्षा चुनौती रहेको भए निवासमै सुरक्षा व्यवस्था कडा पार्न सकिने अवस्थामा उनलाई प्रहरी कार्यालयमै ल्याउनुपर्ने कारणबारे प्रश्न उठेको हो।
जबरामाथि लागेको भनिएको सुरक्षा चुनौतीको स्रोत, त्यसको आधार र उनलाई कार्यालयमा राख्नुको औपचारिक कानुनी आधारबारे भने प्रहरीले अहिलेसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
.gif)

.png)


