बाढी प्रभावित क्षेत्रमा ६ एसएसपीको कमान्डमा प्रहरी टोली परिचालन

उद्धार, खोजी, राहत, शव व्यवस्थापन र क्षतिको मूल्यांकनको जिम्मेवारीी


२०८३ भदौ ११ बिहीबार १४:२२ बजे

काठमाडौं : भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमान्डमा थप ६ वटा विशेष टोली परिचालन गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा खोजी, राहत वितरण, शव व्यवस्थापन, घाइतेको उद्धार, मानवीय तथा भौतिक क्षतिको मूल्यांकनलगायतका कामलाई प्रभावकारी बनाउन एसएसपीको नेतृत्वमा विभिन्न ६ स्थानमा टोली परिचालन गरिएको हो।

बाढीले रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो प्रभाव पारेको छ। बेपत्ता तथा प्रभावितको खोजी र उद्धार कार्य नवलपरासी पूर्व तथा नवलपरासी पश्चिममा समेत भइरहेको प्रहरीले जनाएको छ।

प्रभावित क्षेत्रमा परिचालित टोलीले घाइतेको उद्धार, राहत वितरण, क्षतिको मूल्यांकन, शव व्यवस्थापन तथा अन्य सुरक्षा निकाय र सम्बन्धित सरकारी निकायसँग समन्वय गर्नेछ। टोलीलाई घटनास्थलको अवस्था अभिलेखीकरण तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन आवश्यक सञ्चार उपकरण, तस्बिर खिच्ने सामग्री र ड्रोन क्यामेरासमेत उपलब्ध गराइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार एसएसपी तारादेवी थापालाई जिल्ला प्रहरी कार्यालय चितवनमा खटाइएको छ। त्यस्तै, एसएसपी श्यामकृष्ण अधिकारीलाई मुग्लिनमा आधार बनाएर तनहुँ, गोरखा र चितवन हेर्ने जिम्मेवारी दिइएको छ। एसएसपी रमेश थापाको नेतृत्वमा गल्छीमा आधार बनाएर धादिङ तथा नुवाकोटको सीमासम्म टोली परिचालन गरिएको छ।

एसएसपी अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्चिमको जिम्मेवारी दिइएको छ भने एसएसपी विमलराज कँडेलको नेतृत्वमा नुवाकोटमा आधार बनाएर नुवाकोट जिल्लाभर तथा रसुवा सीमासम्म टोली परिचालन गरिएको छ।

त्यस्तै, एसएसपी होबिन्द्र बोगटीको नेतृत्वमा रसुवालगायत विभिन्न स्थानमा क्षतिग्रस्त मुख्य राजमार्ग तथा सडकखण्डमा आवागमन सञ्चालनका लागि अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्न टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ। अझै सयौँ व्यक्ति सम्पर्कविहीन रहेको र प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७