सर्वोच्चले भन्यो: पक्राउ पर्दैमा हतकडी नलगाउनू
‘भाग्ने वा क्षति पुर्याउने जोखिम भए मात्रै हतकडी लगाउनू’
काठमाडौं : सर्वोच्च अदालतले भाग्ने वा अरूलाई क्षति पुर्याउने जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी नलगाउन प्रहरीका नाममा आदेश जारी गरेको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिम वा अरूलाई क्षति पुर्याउन सक्ने अवस्था नरहेको अवस्थामा हतकडी नलगाउन आदेश दिएको हो।
हतकडीको गैरकानुनी प्रयोग भएको दाबी गर्दै विवेक चौधरी, रोशन आउजा र विकास यादवले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश गरेको हो।
पक्राउ पर्नेबित्तिकै सबैलाई हतकडी लगाउने अभ्यास संवैधानिक तथा कानुनी व्यवस्थाको मर्मअनुकूल नभएको सर्वोच्चको आदेशमा उल्लेख छ।
‘हतकडी लगाउनैपर्ने अवस्था नदेखिएका व्यक्तिका हकमा प्रस्तुत निवेदन अन्तिम किनारा नलागेसम्म, सो सम्बन्धमा अन्य कानुनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हतकडी लगाउने काम नगर्नू,’ आदेशमा भनिएको छ।
हतकडी लगाउनुपर्ने अपरिहार्य परिस्थिति रहे त्यसको कारण खुलाउनुका साथै हतकडी प्रयोगको अभिलेखसमेत राख्न सर्वोच्चले प्रहरीलाई आदेश दिएको छ।
प्रहरी ऐन, २०१२ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा पक्राउ परेको व्यक्ति भाग्न खोजेमा वा जोरजुलुम गरेमा नियन्त्रणमा लिन आवश्यक बल प्रयोग गर्न सकिने व्यवस्था छ। यही व्यवस्थाको आधारमा प्रहरीले पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउने अभ्यास गर्दै आएको छ।
तर, सर्वोच्चले पक्राउ परेका सबै व्यक्तिलाई जोखिमको अवस्था मूल्यांकन नगरी यान्त्रिक रूपमा हतकडी लगाउने अभ्यासलाई रोक्न अन्तरिम आदेश दिएको हो।
.gif)

.png)

