नेपाली सेनाका ६ जना महासेनानी सैनिक सहचारीमा छनोट
काठमाडौं : नेपाली सेनाका ६ जना महासेनानी विभिन्न मित्रराष्ट्रमा सैनिक सहचारीका रूपमा नियुक्तिका लागि छनोट भएका छन्। सैनिक सेवा नियमावली, २०६९ तथा सैनिक सहचारी/सैनिक सल्लाहकार छनोट कार्यविधि, २०७१ बमोजिम सैनिक मुख्यालयले उनीहरूलाई सैनिक सहचारीमा नियुक्तिका लागि छनोट गरेको हो।
यसरी छनोट हुने महासेनानीमा नेपाली सैनिक ब्याटल स्कुलका प्रेम हमाल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका सुरेश थापा, नम्बर ३ बाहिनी अड्डाका पवनकुमार खड्का, प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयका मीनराज तिवारी, नम्बर ६ बाहिनी अड्डाका संगीत पुन र प्रधानसेनापतिको कार्यालयका दिवाकर रायमाझी रहेका छन्। सैनिक मुख्यालयले छनोटमा परेका अधिकृतहरूलाई सोमबार नै यसबारे जानकारी गराएको स्रोतले जनाएको छ। यद्यपि, उनीहरूलाई कुन–कुन मुलुकमा सैनिक सहचारीका रूपमा खटाइने भन्नेबारे भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
सैनिक सहचारीका रूपमा नियुक्त हुने अधिकृतहरूले विदेशस्थित नेपाली दूतावासमा रहेर सम्बन्धित मुलुकका सुरक्षा तथा सैनिक निकायसँग समन्वय गर्ने जिम्मेवारी पाउँछन्। उनीहरूले नेपाल र सम्बन्धित मुलुकबीच सैनिक सम्बन्ध विस्तार, रक्षा कूटनीति प्रवर्द्धन तथा सुरक्षा सहकार्यमा सहजीकरण गर्ने भूमिका निर्वाह गर्छन्। सैनिक सहचारीको नियुक्तिलाई नेपालका लागि सम्बन्धित मुलुकसँगको रक्षा तथा सुरक्षा सम्बन्ध सुदृढ गर्ने महत्त्वपूर्ण कडीका रूपमा लिइन्छ।
.gif)

.png)

